आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो ।
गत आवमा ५ अर्ब १० करोड १७ लाख २८ हजार राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले ४ अर्ब ८८ करोड ४ लाख ४१ हजारमात्र संकलन गरेको छ । संकलित राजस्व लक्ष्यभन्दा २२ करोड १२ लाख ८७ हजार कम हो । कार्यालयले आयकरतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन गरे पनि मूल्य अभिवृद्धि कर(मुअकर) र अन्त शुल्क लक्ष्य अनुसार संकलन नहुँदा समग्र राजस्वको लक्ष्य पूरा हुन नसकेको हो ।
कार्यालयले आयकर शीर्षकमा २ अर्ब ८४ करोड १ लाख २१ हजार संकलनको लक्ष्य राखेकामा ३ अर्ब ३ करोड ५६ लाख जम्मा भएको छ । त्यो लक्ष्यको १ सय ६ दशमलव ८८ प्रतिशत हो । यसैगरी मुअकरमा १ अर्ब ५७ करोड १० लाख ७८ हजारको लक्ष्य राखिएकामा १ अर्ब ३३ करोड ५५ लाख ४२ हजार संकलन भएको प्रमुख कर अधिकृत एवं राजस्व कार्यालयका प्रमुख एवं प्रमुख कर अधिकृत रमेश शर्माले बताए ।
कार्यालयले गत आर्थिक वर्षमा घरबहाल करतर्फ ६ करोड ३९ लाख ३४ हजार, ब्याजकर ३५ करोड ३५ लाख १६ हजार, अन्तशुल्क १८ करोड ९७ लाख ५२ हजार, स्वास्थ्य सेवा कर १६ लाख ४१ हजार र शिक्षा कर ४ लाख ३४ हजार संकलन गरेको छ । कार्यालयले भने लक्ष्य पूरा हुन नसके पनि राजस्व संकलन सन्तोषजनक नै रहेको जनाएको छ । विगतको राजस्वको वार्षिक वृृद्धिदरभन्दा कम भए पनि राष्ट्रिय औसतभन्दा माथि रहेकाले राम्रो नै मान्नुपर्ने कार्यालय प्रमुख शर्माले जनाए । आन्तरिक राजस्व कार्यालय पोखरामा गत असार मसान्तसम्म ६२ हजार ४ सय ७१ आयकरमा र ११ हजार ७ सय १२ करदाता मूल्यअभिवृद्धि करमा दर्ता भएका छन् । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या १ लाख ३० हजार ८ सय ७० रहेको कार्यालयका सूचना अधिकारी मदनबहादुर केसीले जानकारी दिए । गत आर्थिक वर्ष २०७८/७९ मा आयकरतर्फ ७ हजार ४ सय ६६, मुअकरमा १ हजार ३५ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने २२ हजार ५ सय ८३ करदाता थपिएका छन् ।