महाशिलाका महिला सहकारीहरुले गरे सहकारी संघ र तरकारी व्यावसायी सँग अन्तरक्रिया

महाशिलाका महिला सहकारीहरुले गरे सहकारी संघ र तरकारी व्यावसायी सँग अन्तरक्रिया

  • Kanchan News

  • आइतवार, जेष्ठ १९, २०८२

  • 104
    SHARES
महाशिलाका महिला सहकारीहरुले गरे सहकारी संघ र तरकारी व्यावसायी सँग अन्तरक्रिया

महाशिलाका किसान तथा महिला सहकारीले कृषि सहकारी संघ, गण्डकी र कास्की, निजी क्षेत्र, लगायत विउ विजन, उपकरण र तरकारीका फुटकर होलसेल व्यावसायीहरु सँग अन्तरक्रिया गरेको छ । आईतबार पोखरामा महाशिला गाउँपालिका र हेफर ईन्टरनेस्नल नेपालको सहयोगमा ईन्प्रेड नेपालले अन्तरक्रिया आयोजना गरेको हो ।
कृषि उत्पादन र बजारको सञ्जाललाई थप प्रभावकारी बनाउने, सहकार्य र साझेदारी विस्तार गर्ने तथा स्थानीय कृषक र सहकारीहरूको पहुँच बजारसम्म सिधा र सहज बनाउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको हो । महाशिला गाउँपालिकामा हेफर ईन्टरनेशनल नेपाल, महाशिला गाउँपालिकाको सहयोगमा ईन्प्रेड नेपालले तरकारी मूल्य श्रृंखलामा नविनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि” नामक परियोजना सञ्चालन गरेको छ । ग्रामीण क्षेत्रमा क्रियाशील महिला कृषक तथा उद्यमीहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई मूल्य श्रृंखलामा समावेश गराउने उद्देश्यका साथ सञ्चालन भएको परियोजना निकै प्रभावकारी देखिएको छ । यस परियोजनामा आवद्ध महिला कृषकहरुलाई कृषि सहकारी संघ, गण्डकी, कास्की, निजी क्षेत्र, लगायत विउ विजन, उपकरण र तरकारीका फुटकर होलसेल व्यावसायीहरु संग अन्तरक्रिया गराईएको हो ।
ग्रामीण महिला उद्यमीहरूको सीप, ज्ञान र प्रविधिमा पहुँच सुनिश्चित गर्दै तरकारी उत्पादन बृद्धि गरी बजारीकरणमा नवीन अभ्यासहरू भित्र्याउने उद्देश्यले अन्तरक्रिया गरिएको ईन्प्रेड नेपालका अध्यक्ष तथा महाशिला गाउँपालिकाका प्रथम अध्यक्ष राजु प्रसाद पौडेलले जानकारी दिनुभयो । मूल्य श्रृंखलाको हरेक तहमा महिला सहभागिता बढाउने तथा स्थानीय सहकारी र निजी क्षेत्रसँग साझेदारी गर्दै दिगो कृषि व्यवसायको विकासमा टेवा पु¥याउने उद्देश्य राखेर परियोजना सञ्चालन गरेको उहाँले बताउनुभयो । महिलाहरू परम्परागत खेतीमै सीमित हुन नपरोस् भनेर यो परियोजनाले प्रविधिसँगै बजारमै प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउने लक्ष्य राखेको समेत उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजी प्रसाद अधिकारीले सहकार्य र आपसी विश्वासको माध्यमबाट मात्र दिगो कृषि विकास सम्भव हुने भन्दै यस्तो प्रकारको अन्तरक्रियाले सहकार्यलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला कृषि सहकारी संघ कास्कीका अध्यक्ष मिरा अधिकारीले स्थानीय तहमा उत्पादित तरकारी, फलफूल र अन्य कृषिजन्य वस्तुहरूको बजार व्यवस्थापनमा सहकारी, निजी क्षेत्र र कृषकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । हामीले किसानको श्रमको मूल्य दिने संरचना निर्माण गर्नुपर्छ, यस्तो अन्तरक्रियाबाट आपसी बुझाइ, समन्वय र विश्वासको वातावरण तयार हुन्छ, उहाँले भन्नुभयो, जुन प्रतिस्पर्धी बजार व्यवस्थापनको आधार हो ।” उहाँले महिला सहकारीहरू र ग्रामीण महिला उद्यमीहरूलाई प्रविधि, तालिम र बजारीकरणमा सहजीकरण गर्न सहकारी संघ तत्पर रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी कृषकहरूले बजारसम्मको पहुँच, मूल्यमा हुने उतारचढाव,सिजनेवल तरकारीको बजार मुल्य कम पाउने गरेको जस्ता समस्याहरू उठाएका थिए । निजी क्षेत्रका प्रतिनिधिहरूले माग अनुसारको आपूर्ति र सहकार्यमा तयार रहेको बताउँदै सहकार्यका नयाँ ढाँचाहरू प्रस्तुत गरेका थिए । महाशिला गाउँपालिकामा रहेका महाशिला सहकारी,सकृय सहकारी,पैयूँकोट सहकारी र समृद्धि सहकारीका प्रतिनिधिहरुले आफुहरुलाई गाउँपालिका,हेफर ईन्टरनेस्नल नेपाल र ईन्प्रेड नेपालले सहयोग गरेकोमा खुसी व्यक्त गर्दै महिला लक्षित उक्त परियोजनाले आफुहरुको आर्थीक स्तर उकास्न ठुलो मद्दत पुगेको बताएका थिए ।
कार्यक्रममा कृषि सहकारी संघ, गण्डकी र कास्की, निजी क्षेत्र, लगायत विउ विजन, उपकरण र तरकारीका फुटकर होलसेल व्यावसायीहरु सहित महाशिला गाउँपालिकामा रहेका विभिन्न महिला सहकारीमा आबद्ध विभिन्न करिब ५० जनाको सहभागिता रहेको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News