स्थानीय निर्वाचनका लागि भागबण्डाको ‘मोडालिटी’ टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्दै

स्थानीय निर्वाचनका लागि भागबण्डाको ‘मोडालिटी’ टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्दै

  • Kanchan News

  • मङ्लबार, चैत्र २९, २०७८

  • 86
    SHARES
स्थानीय निर्वाचनका लागि भागबण्डाको ‘मोडालिटी’ टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्दै

स्थानीय निर्वाचनका लागि भागबण्डाको ‘मोडालिटी’ टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकले तालमेलको मोडालिटीबारे निर्णय गर्ने भएको हो। annapurna post सोमबारको बैठकमा भागबण्डामा सहमति जुट्न नसकेपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपील जारी गर्दै गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन अपील गरेका थिए। प्रमुख प्रतिपक्ष दल एमालेविरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। उनीहरुले देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर अगाडि बढ्न कार्यकर्तालाई अनुरोध गरेका छन्। विज्ञप्तिमा ठोस खाका भने सार्वजनिक भएको छैन।

गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति गठन गरेको छ। पौडेलको नेतृत्वमा गठन गरिएको समितिले निर्वाचनमा तालमेलको मोडालिटीबारे प्रतिवेदन बुझाएको छ। गठबन्धनको शीर्ष नेताको बैठकमा तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाइने बताइएको छ। सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस नगर्न कार्यकर्तालाई निर्देशन दिएको थियो। उक्त निर्णयप्रति शेखर कोइराला समूहका नेताहरुले असन्तुष्ट जनाएका छन्। कतिपय स्थानीय तहमा भने गठबन्धनभित्रका दलले उम्मेदवार घोषणा गरेका छन्।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्नेले यसपटक मत खसाल्न पाउने भएका छन्। यो व्यवस्था पहिलो पटक गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ सकिएको छ। ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये २८ प्रकारका प्राप्त भइसकेको जनाइएको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News