टोपबहादुर रायमाझीले भने नेपालकै कारण विश्वयुद्ध निम्तिन सक्छ

टोपबहादुर रायमाझीले भने नेपालकै कारण विश्वयुद्ध निम्तिन सक्छ

  • Kanchan News

  • शनिबार, असार ४, २०७९

  • 79
    SHARES
टोपबहादुर रायमाझीले भने नेपालकै कारण विश्वयुद्ध निम्तिन सक्छ

नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन्।  एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ। शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको सुनाए।

‘जहाँ–जहाँ जसको पालामा, जुनस्तरको प्रस्ताव गएको भए पनि, ज–जसको पालामा सम्झौता भए पनि सम्पूर्ण दलहरु, कांग्रेसले पनि यसलाई अघि बढाउन हुन्न भनेको छ। यस विषयमा आम सहमतिजस्तो देखिन्छ। यो खुसीको कुरा हो,’ उनले भने। अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए। उनले भने, ‘राजनीतिक दलहरु, जो चुकेको भए पनि, जानेर वा नजानेर भए पनि यो गलत थियो भन्ने अब समीक्षाको विषय बन्नुपर्छ। अब दलहरुले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी छ। दलहरु बेलाबखतमा सँगै बसेर छलफल गर्नुपर्छ।’ दलहरुले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुनेमा उनको जोड छ। उनले भने, ‘विकास र समृद्धिको कमन एजेण्डामा छलफल गर्नुपर्छ। जसरी पनि सरकारमा जाउँ, जोसित पनि मिलेर जाउँ भन्ने प्रवृत्ति देखिएको छ, यो त्यति उचित होइन।’ ‘हाम्रो कारणले विश्वयुद्ध हुनसक्छ’ नेता रायमाझीले अहिले विश्व राजनीति नै तरंगित बनेको र नेपालले सावधानी नअपनाए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिए। ‘विश्वव्यापी रुपमा टक्कर भैरहेको छ, दुनियाँका मुलुकहरु विभाजित रुपमा गएका छन्। हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ। हामी कुनै देशतर्फ ढल्किनु हुँदैन। घोषित नीतिभन्दा बाहिर जानुहुँदैन।

दलहरुले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ। यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौं भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ। देश सानो वा ठूलो भएर हुँदैन। नीतिमा अडान हुनुपर्छ।’ उनले अहिले कसलाई प्रधानमन्त्री बनाउने वा नबनाउने भन्ने विषय मुख्य नभएको सुनाए। एमाले नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि अफर गरेको विषयमा राखिएको जिज्ञासामा रायमाझीले भने, ‘अब कसलाई प्रम बनाउने वा नबनाउने भन्ने कुरा मुख्य कुरा होइन। केपी ओलीजीले त्यस्तो भनेकोजस्तो लाग्दैन। देशमा सामाजिक न्याय, सुशासन, राष्ट्रियतासहितको समृद्धिलाई प्राप्त गर्नको लागि त्यो एजेण्डालाई केन्द्रविन्दु बनाएर चुनावी अभियान र कार्यक्रम बनाउनुपर्छ। सबै दल आफ्ना एजेण्डा बोकेर जनतामा जानुपर्छ। जसको बहुमत आउँछ, उसले सरकार चलाउने हो।’ उनले एजेण्डाबिहीन हुने अनि सरकार बनाउनको लागि गठबन्धन बनाउने कुरा यो देश र जनताको हितमा नभएको टिप्पणी गरे। उनले भने, ‘बहुमत नआए एजेण्डा मिल्नेसँग सहकार्य गर्ने कुरा न्यायसंगत हो, सरकार बनाउनको लागि त्यो पनि निश्चित् समयको लागि सामान्य कुरा हो। चुनावमा सहकार्यको लागि पनि एजेण्डा मिल्नुपर्छ। अहिले एनी हाउ, सरकारमा जाउ र लुटेर खाउ भन्ने देखिएको छ। यो गलत हो।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे टिप्पणी गर्न आवश्यक नरहेको जिकिर गरे। ‘उहाँ अब कुन एजेण्डा बोकेर जाँदै हुनुहन्छ, भित्री रुपमा एसपीपी बोकेर जाने हो भने त्यो सान्दर्भिक देखिँदैन। तर, उहाँको एजेण्डा थाहा नभएकोले खासै टिप्पणी गर्नुपर्ने आवश्यक छैन।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News