दसैँ वा बडा दसैँ (अन्य नामः दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध–पूजा) नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् । असोज शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ। प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।
विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ। यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।
दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन्ः चैत (चैत) को शुक्लको एवम् कात्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन् । विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । दसैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो । दसैँ पर्वले दस प्रकारका पापहरू– काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ ।
शक्तिवादका अनुयायीहरूका लागि, यो देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ। हिन्दु धर्मशास्त्रमा महिषासुर दानवले देवलोक (देवताहरू बस्ने संसार)मा आतङ्क मच्चाएका थिए तर दुर्गाले राक्षसहरूलाई मारेकी थिइन् । दसैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबीच भएको युद्धको प्रतीक हो। दसौं दिन त्यो दिन हो जब दुर्गाले अन्ततः उनलाई पराजित गरेकी थिइन्। अन्य हिन्दुहरूका लागि यो चाड रावणमाथि रामको विजयको प्रतीक हो जुन रामायणमा वर्णन गरिएको छ ।
महत्त्वपूर्ण दिनहरू
घटस्थापना
टिका र जमरा
विजयादशमीको पहिलो दिन घटस्थापना हो। यसै दिनदेखि नौरथा आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ। यसै दिन जमरा राखिन्छ। यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आवाहन गरिन्छ। यस दिन नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ ।
महासप्तमी
नौरथाको सातौँ दिनलाई फूलपाती अथवा महासप्तमी भनिन्छ। नौरथाको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् भन्ने विश्वास गरिन्छ ।
महाष्टमी
नौरथाको आठौँ दिनलाई महाअष्टमी भनिन्छ । यस दिनमा महाकाली –भद्रकालीको विशेष पूजा–आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौँ योनी–शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दसैँघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ ।
महानवमी
नौरथाको नवौँ दिनलाई महानवमी भनिन्छ। यस दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा–आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ ।
विजयादशमी
नौरथाको दसौँ दिनलाई विजयादशमी पनि भनिन्छ । यस सम्बन्धमा श्रीमद्देवीभागवत नौरथा प्रकरणमा नौरथा पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ। यस दिनमा देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन् ।
यस चाडले “ईश्वरीय“ र “राक्षसी“ शक्तिहरूबीचको रक्तपातपूर्ण लडाइँको सम्झना गर्ने भएकोले यस समयमा पशुबलिहरू सामान्य जस्तै छ ।
मालश्री धुन लाई दसैँको सङ्गीतको रुपमा नेपाली सङ्गीतको मूलधारमा समाहित गरिएको छ । यही धुनले नै दसैँ आएको घोषणा हुन्छ । मालाश्री धुन नेवाः कलाको सबैभन्दा पुरानो जीवित भक्ति सङ्गीत मध्ये एक हो, जसको उत्पत्ति १७ औँ शताब्दीमा भएको थियो । उचित समयमा र दसैँ नेवारहरूले मात्र होइन तर सबै नेपालीहरूले मनाउने तथ्यलाई पनि ध्यानमा राख्दै, यो धुनलाई सृजना गरिएको थियो। यो राष्ट्रिय संस्कृतिको एक भाग हो जसलाई दसैँको समयमा बजाइन्छ ।
दसैँ नजिकिँदै जाँदा चङ्गा उडाउनु सामान्य हुँदै जान्छ । अब वर्षा नपठाउन भगवान्लाई सम्झाउने एउटा तरिका मानिने भएकाले चङ्गा उडाउने गरिन्छ । यो नेपालमा दसैँ मनाउनुको एउटा महत्वपूर्ण पाटो हो । रङ्गीचङ्गी चङ्गा र ’चङ्गा चेट’ (यो वाक्यांश सामान्यतया एकले अर्को व्यक्तिको चङ्गाको डोरी काट्दा प्रयोग गरिन्छ) भनेर चिच्याउने आवाजहरू चाडको समयमा लोकप्रिय रहन्छ ।
तास, लङ्गुर बुर्जा, कौडा आदी खेल्नु पनि दसैँ मनाउने अर्को तरिका हो । दसैँको समयमा केटाकेटीहरू चङ्गा उडाउन व्यस्त हुँदा, परिवारका ठुला सदस्यहरू पैसा र रमाइलोको लागि एकसाथ भेला भएर र तास खेलेर आफ्नो समय बिताउँछन् ।
नयाँ लुगा किन्नु र लगाउनु चाडबाडको महत्वपूर्ण भाग हो । गाउँघरमा बसोबास गर्ने धेरै मानिस गरिबीको रेखामुनि रहेकाले उनीहरूका लागि नयाँ लुगा दसैँसँगै मात्र किनमेल गरेको पाइन्छ । लगभग सबै पसलहरूमा उत्सव प्रस्तावहरू र छुटहरूका साथ सामानहरू बिक्री गरिन्छ । यसले किनमेललाई थप आकर्षक बनाउँछ। चाडबाडमा सबैभन्दा बढी लत्ताकपडा बिक्री हुने गरेको छ ।
दसैँमा निर्माण गरिएको फिर्के पिङ
उत्सवको रूपमा देशका धेरै भागहरूमा बाँसको पिङहरू निर्माण गरिन्छ। दसैँमा विभिन्न प्रकारका पिङहरू निर्मण गरिन्छन् । यसले स्थानीय संस्कृति, परम्परा, सामुदायिक भावना, र आनन्दको सबै भन्दा राम्रो प्रस्तुती मानिन्छ। यी पिङहरू समुदायका सदस्यहरूले परम्परागत सामग्रीहरूद्वारा निर्माण गरेका हुन् जसमा कडा घाँस, बाँसको लट्ठी र काठ र डोरी प्रयोग गरिन्छ । सामान्यतया घटस्थापनाको एक हप्ताअघि नै पिङ निर्माण हुने र दसैँपछि आउने तिहारपछि मात्र भत्काउने गरिन्छ। कुनै–कुनै पिङको उचाइ बीस फिटभन्दा बढी हुन्छ। सबै उमेरका मानिसहरू पिङको आनन्द लिन्छन् ।
चाडबाडको समयमा मेला तथा उत्सवको आयोजना गरिन्छ । सामान्यतया, यस पर्वमा विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ । तथापि, सहरहरूमा व्यावसायिक मेला र उत्सवहरू सामान्यतया व्यवस्थित हुन्छन् ।
हरेक वर्ष दसैँमा राँगा, हाँस, भेडा, कुखुरा, खसी बोकालगायत हजारौँ जनावरको वध हुने गरेको छ । यस्ता बलिबाट देवीदेवताहरू प्रसन्न हुन्छन् भन्ने मान्यता भएकाले यसलाई महत्वपूर्ण अनुष्ठानका रूपमा लिइन्छ । प्रायः सबै मन्दिरहरू, विशेष गरी दुर्गा र काली मन्दिरहरूमा हजारौँ बलि चढाइन्छ । अष्टमी र नवमी बलि दिने प्रमुख दिन हो । देवीदेवताहरूलाई प्रसन्न पार्न हजारौँ पशुहरूको बलि चढाइन्छ भने मानिसहरू चाडवाडका लागि पशुहरूको पनि बलि चढाउँछन्। चाडबाडको पन्ध्र दिनसम्म धेरै भोज भतेर र जमघट हुने भएकाले मासुको माग ह्वात्तै बढ्छ। माग पूरा गर्न, जनावरहरूको वध धेरै उच्च र आवश्यक हुन्छ जसले गर्दा यस पर्व खर्चिलो हुन जान्छ ।
दसैँ पर्वमा पशुबलिका कारण प्रायः आलोचना हुने गरेको छ । सामूहिक पशुबलि विरुद्ध सरकारी कारबाहीको माग गरिएको छ।ताजा रगत चढाउँदा देवी दुर्गा प्रसन्न हुन्छ भन्ने विश्वासका साथ विशेषगरी पर्वको आठौँ र नवौँ दिनमा सयौँ पशुपक्षीको विधिपूर्वक वध गरिन्छ । परम्परागत रूपमा बलिको लागि योग्य चरा र जनावरहरूमा खसी, बोका, राँगा, भेडा, कुखुरा र हाँस समावेश छन् । २५ केही पशु अधिकारकर्मीहरूले चराचुरुङ्गी र जनावरहरूको विपरीत फर्सी र नरिवलको प्रयोगको लागि आह्वान गरेका छन् ।
विभिन्न राष्ट्रिय विभूति तथा पशु अधिकारकर्मीले पनि यस पर्वमा पशुक्रूरताको विषयमा चिन्ता व्यक्त गरेका छन् । २०७३ असोज १७ का दिन नेपाली हास्यकलाकार हरिवंश आचार्यले नेपाल साप्ताहिकमा ’एउटा खसीको आत्माकथा’ शीर्षकको व्यङ्ग्यात्मक लेख लेखेका थिए ।
नेपालको वर्तमान राजनीतिक परिवेशमा पनि विभिन्न आदिवासी जनजाति ले आफूमाथि राज्यले चाडबाड थोपरिएको तर्क गर्दै आएका छन् । नेपाली राज्यमा प्रभुत्व जमाएको हिन्दु सम्भ्रान्तवर्गको सांस्कृतिक प्रभुत्वको विरोध गर्न विभिन्न सङ्गठन ले दसैँ बहिष्कार गरेका छन् । अहिलेसम्म ती अभियानहरूले देशभरि सीमित प्रभाव पारेका छन्। तैपनि, दसैँ र अन्य सांस्कृतिक उत्सवहरू पनि नेपाली जीवनशैलीमा गाँसिएका छन् ।
दशैं र तिहार जस्ता अत्यन्त धार्मिक महत्वका चाडलाई पनि हामीले आर्थिकरूपमा हेरेर विकृति ल्याएका छौं । कसले कस्तो लुगा किन्यो, कत्रो खसी किन्यो र कति दक्षिणा दियो भनेर लेखाजोखा हुन थालेपछि अब के नै बाँकी रह्यो र ? दशैंको महत्व दक्षिणामा हैन आशीर्वादमा हो, खसीको तौलमा हैन देवीको पूजामा हो र महँगो लुगामा हैन चोखो लुगामा हो भन्ने सन्ततिलाई सिकाउन अब ढिला भइसकेको छ ।