विषादी विष हो,औषधि हैन

विषादी विष हो,औषधि हैन

  • विवश प्रत्येल

  • सोमवार, माघ १५, २०८०

  • 505
    SHARES
विषादी विष हो,औषधि हैन

सामान्यतया रोग, किरा र झारपात कृषि उत्पादन र खाद्य सुरक्षाको मुख्य बाधक तत्व हो । विश्वमा वर्षेनी ३१-४२% बालीहरुमा नोक्सानी रोग, किरा र झारपातबाट हुने अनुमान गरिएको छ जसमध्ये १४.१% रोगबाट, १०.२% किराबाट, १२.२% झारपातबाट र ६-१२% भण्डारको समयमा हुने गरेको पाईन्छ । यस्ता नोक्सानीहरु विशेषगरी विकसित देशमा भन्दा विकासोन्मुख देशहरुमा बढी भएको पाईन्छ । अर्थविदको अनुसार विश्वमा लगाईने सबै प्रकारका बालीहरुको उत्पादन करिब १५०० विलियन डलर हुन्छ, जसमध्ये ५५० विलियन डलर बराबरको नोक्सानी रोग, किरा र झारपातले गर्दा भएको पाइएको छ। यसैगरी बालीनालीमा रोग, किरा र झारपातको नियन्त्रण गर्न प्रयोग गरिने रासायनिक विषादीको जथाभावी प्रयोगले विश्वमा कयौं मानिसको ज्यान गएको छ। एक सर्बेच्क्षण अनुसार विश्वमा करिब २६ मिलियन मानिसहरूमा बर्सेनि विषादीको असर पर्ने र त्यसमध्ये करिब २.२ मिलियन मानिसको मृत्यु भएको पाइएको छ। नेपालजस्तो विकासोन्मुख देशले विश्वमा खपत हुने जम्मा विषादीको २५% खपत गर्दछन भने ९०% विषादीबाट हुने मृत्यु विकासोन्मुख देशबाट हने गर्दछ।

 

बास्तवमा बीउ, विरुवा, रुख, पशुपंक्षि, मानवस्वास्थ, निर्माणक्षेत्र आदिमा लाग्ने शत्रुजिवहरुलाई रोक्न, हटाउन, नियन्त्रण गर्न, व्यवस्थापन गर्न तथा नाश गर्न प्रयोग गरिने विषालु पदार्थलाई विषादी भनिन्छ। विषादीको प्रयोगले मानव जिवनमा मात्र नभई माटोका सुक्ष्म जिवाणु, जङगली जनावर, लाभदायी किराहरुको क्षति र समग्र वातावरण दुषित बनाउने भएकोले यसको लगातार र जथाभावी प्रयोग उचित हुदैन । नेपालमा प्रथमतः सन १९८२ मा औलो रोग नियन्त्रण गर्न डि.डी.टी आयात गरिएको थियो जुन समयलाई नेपालमा पहिलोपटक विषादी प्रयोग भएको मानिन्छ । बढ्दो जनसंख्या सँगसँगै खाद्य सुरक्षामा पर्न गएको चापलाई न्यनिकरण गर्न कृषिमा आधुनिकीकरण र व्यवसायीकरण बढ्दै गएतापनि वर्षेनी विषादीको खपत बढ्दो क्रममा छ। हाल नेपालमा विषादीको औषत प्रयोग ३९८ ग्राम खास विष प्रति हेक्टर छ, जसमध्ये तरकारीमा १६०५ ग्राम खास विष प्रति हेक्टर, अन्नबालीमा ४६ ग्राम खास बिष प्रति हेक्टर, नगदेबालीमा १८६ ग्राम खास बिष प्रति हेक्टर र फलफुलमा २९ ग्राम खास बिष प्रति हेक्टर रहेको पाईन्छ ।

 

संसारमा भएका विभिन्न किसिमका जीवजन्तूहरुमा सबैभन्दा धेरै प्रतिशत बाहुल्यता किराहरुको छ तर ति किराहरु मध्ये कतिपय प्रजातिहरु बालीनालीका लागि हानिकारक हुन्छन भने कतिपय प्रजातिहरु बालीनाली र मानव जिवनको लागि लाभदायक हुन्छन् । बालीनालीमा लाग्ने विभिन्न शत्रुजिव नियन्त्रणको लागि प्रयोग गरिने रासायनिक विषादीहरु मानिस र पशुपंक्षिहरुको स्वास्थ्यको लागि घातक हुने र हावापानी, माटो लगायत समग्र पर्यावरणलाई समेत प्रदुषिण पार्ने गर्दछ। अनावश्यक विषादीको प्रयोग, विषादीको गलत छनोट, अत्यन्त खतरनाक र चौडा दायरा भएका विषादीको प्रयोग, सिफारिस मात्रा र पटक भन्दा बढी विषादीको प्रयोग, खाद्य भण्डारमा विषादीको प्रयोग, विषादी प्रयोग गरिसके पछि खानयोग्य हुने बेलासम्मको पर्खनु पर्ने समयको पालना नहुनु, गुणस्तरहिन म्याद नाघेको विषादीको प्रयोग, आईपिएम तथा अर्गानिक उत्पादनको प्रमाणिकरणमा कठिनाइ तथा कमजोर अनुगमन र कानुनी प्रावधान इत्यादि कारणहरुले विषादीको अनियन्त्रित र जथाभावी प्रयोग भई यसले मानव जीवन, पशुपंक्षि, बोटविरुवा लगायत सिंगो वातावरणमा नकारात्मक असर पारेको छ। जसको कारण लाभदायक किराहरुको सङ्ख्यामा कमि आई खाद्य चक्रमा असन्तुलन ल्याउनुका साथसाथै मानव जिवनमा अतुलनीय क्षति भएको छ।

 

बास्तबमा विषादीको उत्पादन, पैठारी, बिक्री, परिवहन, मिसावट र प्रयोगको समयमा विषादी र अन्य रासायनहरु शरिरभित्र छाला, श्वासप्रश्वास क्रिया, मुख र आँखाबाट प्रवेश गर्दछन। यसरी शरिरभित्र प्रवेश गरेको विषादीको नकारात्मक असरको मापनलाई विषादीको दिर्घ विषालुपन भनिन्छ । साधरणतया यसको प्रभाव केही महिनादेखि १ बर्षसम्म वा त्यसभन्दा बढी समयसम्म रहन सक्छ । शरिरमा विषादीको प्रवेशबाट छालाको भित्री तहमा, नाक, मुख र आँखालाई धेरै असर पार्दछ। आँख पोल्ने, छाला चिलाउनुका साथसाथै स्वासप्रस्वास प्रणालीमा असर गर्दछ। पाराक्वाट र डाइक्वाट नामक विषादी जब रगतमा पुग्दछ यो सिधै फोक्सोमा जान्छ। तसर्थ यसको सेवन भएमा ज्यादै घातक हुन्छ र यसको अल्पकालीन र दिर्घकालीन लक्षणहरु देखिन्छ । रिँगाटा लाग्ने, छाला चिलाउने टाउको दुख्ने, खोकी लाग्ने, होस् हराउने, वाकवाकी लाग्ने, छाला लाटो हुने माशंपेशी थाक्ने, पेट बटारिने जस्ता अल्पकालीन लक्षणहरु देखिनुका साथै क्यान्सर, कलेजमा खराबी, मानसिक असन्तुलन, एलर्जी, नपंशुकता जस्ता दिर्घकालीन असरहरु देखिन्छन् ।

 

जीवनाशक विषादीसम्बन्धि सुरक्षा कृषि व्यवसायको एउटा ज्यादै महत्त्वपूर्ण विषय हो । यसको समुचित रुपमा उपयोग नगरिएमा यसले मानवजिवन र जैविक विविधतामा समेत हानि पुर्याउन सक्छ। जसको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वातावरणमा असर पर्न जान्छ । विषादीको प्रभावकारी उपयोग गर्नको निमित्त जिवनाशक विषादी व्यवस्थापन ऐन र नियमावलीको व्यवस्था अनुरुप विषादीको आयात, उत्पादन र किनबेच हुनुपर्छ । विषाद आयातित क्षेत्रमा प्रतिवन्धित गरिएका र पञ्जिकरण नगरेको विषादीको आयातमा रोक लगाउनुपर्छ। बालीनालीमा विषादीको प्रयोग गर्दा त्यसमा लगाएको लेवल हेरि उचित मात्राको प्रयोग गरिनुपर्छ। विषादीको प्रयोग गर्दा चार ‘क’ कुन, कहाँ, कसरी र कहिले उपयोग गर्ने बारेमा राम्रोसँग जानकारी हुनुपर्छ। ग्रामीण क्षेत्रमा हुने विषादीको जथाभावी प्रयोगको नियन्त्रणको निमित्त स्थानीय सरकारबाट हरेक किसान समुहलाई विषादीको लेवल, विषालुपन, श्रेणी विभाजन, प्रतिवन्धित गरिएका र पञ्जिकरण नगरिएका विषादीहरु, विषादी छर्कने तरिका तथा अत्यावश्यक सुरक्षा र सावधानीको बारेमा जानकारी सहितको तालिम दिनुपर्छ। एकीकृत शत्रुजिव व्यवस्थापन कार्यक्रम लगायत अन्य वैकल्पिक बाली सरंक्षणको विधिहरुलाई अपनाउन प्रेरित गर्नुपर्छ तब मात्र “विषादीहरु विष हुन, औषधि होइनन् ” भन्ने उदगार सफल हुन सक्छ।

 

(लेखक त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा सातौ सत्रान्तमा अध्ययनरत छन्) ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News