
पुसको अन्तिम बुधबार , म मज्जा संग निदाईरहेको थिए । एक्कासी साथिले चिच्याउदै उठायो हेर त पोखरा बाट ३५ जना मागेछ यार , हॅं ! के भन्छ यो ? के मागेछ ? ह्या यो पनि ,आज पुस महिनाको अन्तिम बुधबार होईन त अनि । ए खै ले त हेरौ , हातबाट मोबाईल खोसे मैले यसपाली चाहि राम्रै खुलाएछ अब पढ्नु पर्छ । मनमा केहि आस पलायो लोकसेवामा नाम निकाल्ने । लोकसेवा भनेपछि सबैजसो परिचित नै हुन्थे , सहरको चोक चोकमा निस्कदा पनि लोकसेवाकै कुराहरू सुनिन्थे । अझ कोही कर्मचारी चटक्क ड्रेस लगाएर सेतो प्लेटको बाईक चढेको देख्दा त केही बेर आफै चढेको जस्तो भान हुन्थ्यो । किनकी मलाई थाहा थियो म पनि एकदिन पक्कै यसरि नै सेतो प्लेटको सवारीमा चढ्ने छु ।
निजामती कर्मचारी बन्नु मेरो प्रमुख लक्ष्य थियो । बाहिर देख्नेलाई नाम निकाल्न सकेन भन्ने लागेपनि त्यसको लागी मैले गरेको मिहिनेत मलाई मात्र थाहा थियो । साथिहरू घुम्न जाउ भन्थे , म कास्किको पोखरामै भएर पनि कास्कीका तालहरू घुम्ने समय निकाल्न सकिन र पनि मलाई थाहा थियो फेवा ताल , बेगनासताल , रूपाताल लगायतका तालहरू कास्की मै छन । पातले छांगो , महेन्द्र गुफा , चमेरे गुफाको लम्बाई समेत याद गरेको म पोखरामै भएर पनि त्यहा सम्म पुग्न सकिन कारण थियो मलाई लोकसेवामा नाम निकाल्नु थियो । साथिहरू राराताल घुमेर आए तर म भने समुन्द्रि सतहदेखि रारा तालको उचाई र त्यसको क्षेत्रफल घोक्नमै ब्यस्त थिए । चितवन राष्ट्रिय निकुन्ज मा पाईने जनाबारको लिष्ट बनाएर पढ्न ब्यस्त म थिए भने मेरा साथिहरू सौराहा सबै घुमेर आईसकेका थिए । यसरि म कुनै पनि ठाउमा नपुगेको भएपनि ति साथिहरूको अगाडी सबै कुराहरू भन्दा साथिहरू दंग पर्दथे तर मलाई खिन्न लाग्दथ्यो किनकि मैले गरेको मिहिनेत को लक्ष्य कहिले पुरा होला ? म पनि यसरि कहिले धुम्न पाउछु होला । अ साच्चि निजामती भएपछि त १० दिनको भ्रमण बिदा पाईन्छ नि , मन प्रफुल्लित हुन्थ्यो र तिनै गोसाईकुण्ड , रारातालको वरिपरि म पुगिसकेको हुन्थे । आफ्नै बाउ बाजेको बारेमा राम्रो संग जानकार नभएको म , नेपालका गोपाल वंश , किरात , लिच्छवि , मल्ल सबै कालखण्डका शासकको पुस्ताको बारेमा जानकार थिए । बिश्वको कुन नदि कुन कुन देश भएर बहन्छ कुन देशको उत्पादन के हो , राष्ट्रिय खेल सबै मैले पढिरहेको थिए । कुनै दिन एउटा पनि उपन्यास पढ्न फुर्सद नहुने म कुन कृति कसले कहिले प्रकाशित गर्यो र कुन कृतीले कुन पुरस्कार पायो सवै घोक्न तल्लिन थिए । कोठामा रोम्रो संग खाना बनाउन समय नभएर दाल भात एकै ठाउमा सिठि लगाएर त्यै पनि आदा काचो आदा पाकेको पनि खान बाध्य भएको म कुन परिकारको लागी कुन ठाउ प्रसिद्द छ त्यो सबै जानेको थिए । यसरि मैले मेरो लक्ष्यको लागी केही पनि बाकि राखेको थिईन यदि बाकी थियो भने मात्र मेरो नाम पत्रिकामा प्रकाशित हुन ।
प्रथम पत्र , दितिय पत्र , तृतिय पत्र र अन्तर्बार्ता दिएर बसेको थिए ।अब प्रखाई अन्तिम नतिजाको थियो । पुसको अन्तिम बुधबार जस्तै साथिले मलाई उठायो हेर त नतिजा प्रकाशित भएछ । म झसंग भए , मेरो नाम हेर त मैले झट्ट भने , उसले मलाई मोवाईल दियो र भन्यो हेर त आफै । मैले मोबाईल समातेर हेरे , तर मेरो नाम भेटिएन एकछिन त म केही बोल्नै सकिन अक्क न बक्क भए । साथि हास्दै भन्यो , काचो भात खाएको काम लागेन है ? म संग यस प्रश्नको उत्तर नै थिएन किनकी म संग अर्को पुसको बुधबार कुर्नु शिवाय अरू कुनै उपाय थिएन ।