प्रधानमन्त्री देउवा संसद्‌प्रति अनुत्तरदायी

प्रधानमन्त्री देउवा संसद्‌प्रति अनुत्तरदायी

  • Kanchan News

  • आइतवार, असार ५, २०७९

  • 93
    SHARES
प्रधानमन्त्री  देउवा संसद्‌प्रति अनुत्तरदायी

नेकपा एमालेका सांसद् भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌प्रति अनुत्तरदायी भएको आरोप लगाएका छन् । आइतबार जारी अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद रावलले प्रधानमन्त्री देउवालाई संसद्‌प्रति अनुत्तरदायी भएको आरोप लगाएका हुन् ।

संसदीय समितिको बैठकमा आउँछु भनेर बिनाकारण नआउनु खेदजनक भएको भन्दै उनले यसमाथि समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री संसद्‌प्रति अनुत्तरदायी हुनुभयो । प्रधानमन्त्रीले संसदीय समितिमा आउँछु भनेर अकारण सचिवालयमार्फत आउँदिन भन्नु खेदजनक हो । समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ‚’ उनले भने ।

बैठकमा उनले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर गर्दा लोकतन्त्रको रक्षा गर्ने र संसदीय मूल्य मान्यता मान्ने आश्वासन दिए पनि उक्त कुरा कार्यान्वयन नभएको उनले बताए ।

एसपीपीको विषयमा बोल्दै सांसद रावलले भने‚ ‘एसपीपीबाट बाहिरिने पत्र आजसम्म लेखिसक्नुपर्ने हो; लेखिएन । अब संसदीय समितिले सरकारलाई एसपीपीमा नरहने कुरा उल्लेख गरेर पत्र लेख्न निर्देशन दिनुपर्छ ।’

 

समिति सभापति पवित्रा निरौला खरेलका अनुसार आज बिहान ८ बजेमात्र प्रधानमन्त्री नआउने जानकारी आएको हो । उनले प्रधानमन्त्री नआउने भए समयमै समयमा खबर हुनुपर्ने बताइन् । ‘समयमा खबर नगर्नु अपमान नै हाे । हिजाेसम्म खबर दिनुपर्ने हाे । आज ८ बजे खबर दिनु त अपमान नै हाे । बिहान ८ बजे सचिवलाई फाेन गर्नुभएको हाे, ‘ उनले भनिन्, ‘त्यसपछि मलाई जानकारी भएको हाे । यसैले समितिको अपमान भएको हाे ।’

प्रधानमन्त्री नआउने भएपछि समिति सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिएका छन् ।

प्रधानमन्त्री देउवाको अनुपस्थितिबारेको प्रश्नमा जवाफ दिँदै कांग्रेसकी सांसद पुष्पा भुसालले अमेरिका भ्रमणबारे औपचारिक निर्णय नभइसकेको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म अमेरिका भ्रमणबारे पत्राचार भएको छैन । फर्मल रुपमा निर्णय नभइसकेको अवस्थामा समितिमा बाेलाउनुकाे अर्थ रहँदैन । यस कुरामा समितिलाई जानकारी गराउँछु भन्नु भएकाे छ । उहाँले भ्रमण तय भएपछि आउँछु भन्नुभएको छ । समितिको अपमान भयाे भन्नुभन्दा पनि भ्रमण तय भएपछि उहाँ आउनुहुन्छ ।’ त्यस्तै कांग्रेसका अर्का सांसद् दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री नआउँदा समितिको अपमान भयाे भन्न नमाल्ने बताए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News