स्मार्ट पत्रकार बन्ने कि फिचर पत्रकार ?

स्मार्ट पत्रकार बन्ने कि फिचर पत्रकार ?

विचार

  • राजेन्द्रराज तिमिल्सिना

  • मङ्लबार, अशोज ५, २०७८

  • 259
    SHARES
स्मार्ट पत्रकार बन्ने कि फिचर पत्रकार ?

स्मार्ट शब्द समकालीन विश्वमा सर्वाधिक चल्तीका शब्दहरुमध्ये एक हो । स्मार्ट व्यक्ति¸ स्मार्ट लक्ष्य आदि । स्मार्ट फोन सर्वप्रिय छँदैछ । कतिपयले व्यक्तिको पहिरनको बान्कीलाई नै स्मार्ट भनेको भेटिन्छ । स्मार्ट फोन आउनुअघि फिचर फोन थियो । स्मार्ट फोनमा स्मार्ट सुविधा छन् भने फिचर फोनले पनि संचार गर्ने गर्थ्यो । यहाँ चर्चा गर्न लागिएको बान्की र लक्ष्यको होइन न त फोनकै हो । कुरो स्मार्ट पत्रकारको । त्यसो त सबैले स्मार्ट फोन नै प्रयोग गर्नु पर्छ भन्ने छैन । फिचर फोनबाटै काम चलाउनेको जमात स्मार्टवालाको भन्दा बढ्तै होला । तैपनि सृजनाका क्षेत्रमा नवीनतम प्रयोगलाई रुचाइन्छ र लोकप्रयता पनि बढ्छ ।
स्मार्ट पत्रकार सम्बन्धी यो लेखाइ नै पनि पछि परिसक्यो । यन्त्र मानव वा कृत्रिम बौद्धिकता (Artificial Intelligence – AI) ले समाचार तयार पार्ने र समाचार वाचन गर्नेसम्मका काम शुरु गरेको पनि केही वर्ष भैसकेको छ । AI ले स्मार्ट व्यक्ति र स्मार्ट प्रविधिको संयोजनमा विकसित देशमा समाचार कक्ष नै संचालन गर्ने क्रम बढ्दो छ । विश्वभरिका समाचार कक्षहरुलाई AI मार्फत् संचालन गराउने भन्दै युरोपियन साइन्स मिडिया हबले सन् २०१९ मा पत्रकारिताको भविष्य विषयमा ३ दिवसात्मक कार्यक्रम फ्रान्समा संचालन गरेको थियो । अहिले ती यन्त्र पत्रकारका कामको सकारात्मक र नकारात्मक पक्षबारे समीक्षा गर्ने काम भैरहेको छ ।
नेपाली पत्रकारितामा भने वरिष्ठ र स्मार्ट देखिने अवस्थाका पत्रकारलाई समाचार कक्षबाट अनेकौ तिकडम लगाएरु अवकास दिने र फिचर पत्रकार वा प्रशिक्षार्थीबाट काम गराउने चलन बढेको गुनासो सुनिन थालेको केही वर्ष भैसकेको छ । परिणामस्वरुप मिडियाको उत्पादनको स्तर पनि प्रशिक्षार्थी तहकै पाइनु ठीकै हो । तैपनि कतिपय नेपालीले न्यूयोर्क टाइम्सको लोकप्रियताको कुरा गरिरहेका हुन्छन् । खासगरी त्यस पत्रिकाको अनलाइन संस्करणका लागि पनि महंगो शुल्क तिरेर ग्राहक बन्नेहरुको संख्या ठूलो रहेको विषय नेपाली मिडियाका लागि अचम्मैलाग्दो कुरा हो । त्यसो किन भैरहेछ भने स्मार्ट पत्रकारहरुले स्तरीय सामग्री पस्किन्छन् जुन पढ्दा पाठकलाई अन्तरदृष्टि समेत प्राप्त हुन्छ । कारक अन्य पनि छन् तर स्मार्ट पत्रकारको स्मार्ट प्रस्तुति नै मिडियाको लोकप्रियताका प्रमुख आधार हुन् ।
स्मार्ट व्यक्ति भनेपनि पत्रकार भनेपनि कुरो उही हो । विधा मात्र फरक हुन सक्ला । व्यवस्थापनमा स्मार्ट व्यक्तिले चुस्त र लोकप्रिय व्यवस्थापकीय क्षमता प्रस्फुटन गर्न सक्छ । पत्रकारितामा स्मार्ट पत्रकारले सटीक प्रस्तुति पस्किन सक्छ । स्मार्ट पत्रकारले समयको यथार्थतामा आधारित विशेष प्रसंगमा अरुभन्दा फरक हो भनेर मापन गर्न सकिने प्रस्तुति दिन सक्छ जसलाई उसका अडियन्स (पाठक¸स्रोता वा दर्शक) को विश्वास आर्जन भैरहेको हुन्छ । समग्रतामा भन्ने हो भने स्मार्ट एक प्रतिभा हो । सके स्मार्ट बन्ने नसकेपनि स्मार्ट बन्ने सोच मात्रै राख्ने हो भनेपनि विशेष कुरा हुन आउँछ नेपालमा । मिडियाका साहूले पत्रकारलाई चोर दोष वा सो सरहको बहानामा निकाल्दा समेत स्मार्ट पत्रकारले स्वरोजगार सृजना गर्न सक्छन् र अरुलाई पनि रोजगारी दिन गर्न सक्छन् । त्यो स्मार्ट बाटो कसरी फेला पर्ला त भन्नेबारे यहाँ मामूली र थाहा भएकै केही भनाइ राख्दैछु ।
प्रतिभा सामान्यतया बनाइने विषय हो । कतिपय व्यक्तिमा जन्मजातै पनि प्रतिभा रहेको हुन्छ । प्रारब्धले नै प्रतिभा र नियति निर्धारण गरेको हुन्छ पनि भनिन्छ । प्रारब्ध वा आर्जन जे भएपनि वरिपरिको वातावरण अथवा संगत् सर्वोच्च पक्ष हो । भनिएकै छ– संगतो जायते फलम् । अर्थात् संगत गुनाको फल हुन्छ । पढाइ र स्कूले संगत एक खुड्किलो हो भने व्यावसायिक स्कूलिङ पनि उत्तिकै महत्वपूर्ण खुड्किलो हो । पत्रकारिता पढेर र परेर दुवै विधिबाट जानिने विषय हो । पौडी जस्तै । पौडीको बारेमा सैद्धान्तिक पढाइ त पानी बाहिरै बसेर हासिल गर्न अवश्य सकिन्छ तर पौडीको सीप र बाँच्ने कलाका लागि पोखरीमा हाम फाल्नै पर्ने हुन्छ । जोसेफ पुलिट्जर शुरुमा फन्टुस पत्रकार थिए । उनलाई पीत पत्रकारिताका पिता पनि भनियो । उनले गर्नु नगर्नु सबै गरे । पछि संगत र ठक्करबाट तिखारिँदै जाँदा उनलाई महान पत्रकार मानियो । आज पुलिट्जर पुरस्कार बाँडिन्छ । स्मार्ट पत्रकारका रुपमा स्थापित कलमबाजले मात्रै त्यो पुरस्कार पाउँछन् । पुलिट्जर पुरस्कार पाउनेले लेखेको पुस्तक सर्वाधिक बिक्रीको सूचीमा परिहाल्छ ।
अनेकौ ठक्कर खाएका अनुभवी पत्रकारको संगत सफलताको प्रमुख कडी हो । शैक्षिक डिग्रीले जग त हाल्ला तर त्योभन्दा धेरै पढाइ पत्रकारितामा आवश्यक पर्छ । डिग्री चोरेर पनि पाउन सकिन्छ । पीएचडी नै अर्कालाई लेखाएर वा किनेर ल्याउनेहरु पनि देखिन्छन् । तसर्थ सीपको साधना नै सफलताको साधन हो । साहित्य अध्ययनले लेखन तथा सम्प्रेषणलाई मिठासयुक्त संरचना सृजना गरिदिन्छ । नेपालीमा एक उदाहरण लक्ष्मीप्रसाद देवकोटाको निबन्ध संग्रह एक हुन सक्छ । अरु नेपाली कृतिहरु पनि छन् । भैरव अर्याल उत्तिकै प्रखर छन् । दर्शनमा श्कर लामिछाने पनि एक हुन् । त्यस्तै¸ विदेशी पत्रिका अध्ययनले DIIS को दायरा फराकिलो पार्छ । नेपाली मिडियाकर्मीले अंग्रेजी पत्रिका र अंग्रेजी मिडियावालाले नेपाली मिडिया अध्ययन गर्नु प्रतिभा माझ्ने अर्को उपाय बन्छ ।
अंग्रेजी भाषा स्मार्ट बन्न नभै नहुने कुरो हो । भाषा जान्ने सजिलो उपाय तालिम हो । तालिम लिनु पर्छ । अंग्रेजीको तालिमका लागि नेपालका शहरहरुमा प्रशस्तै इन्स्टिच्युट छन् । स्मार्ट बन्न महंगो फोन किने जस्तै भाषा पनि किन्दै भर्दै गर्ने हो । अभ्यास हो । यसो गर्न उमेरले छेक्दैन । विदेशीले नेपालमा आएर भाषा सिकेर उच्च अध्ययन सम्पन्न गर्न सक्छन् भने अंग्रेजी जान्न रुचि र समर्पण हुने व्यक्तिलाई भाषिक ज्ञान कुन ठुलो कुरो भयो र ? असम्भव छैन । शैक्षिक डिग्री नै नभएकाहरुले अनेकौं भाषा सिकेर स्मार्ट बनेका छन् । जति धेरै भाषा जान्यो व्यक्ति उति धेरै स्मार्ट बन्नु स्वाभाविक हो । भाषिक बहुलताले सास्कृतिक बहुलता¸ ज्ञानको बाहुल्य¸ सोचको विविधता र अभिव्यक्तिको तुलनात्मकता पनि सम्भव गराइदिन्छ । कम्तीमा पनि मातृभाषासंगै अंग्रेजी जानेमा ।
स्मार्ट पत्रकार बन्ने अर्को काइदा हो– मिडिया मोनिटरिङको नशा । हरेक आधा वा एक घण्टामा समाचार र सूचनाको अद्यावधिकता । अन्तर्राष्ट्रिय संचार माध्यमका प्रतिनिधिहरु यसरी नै मिडिया मोनिटरिङ गरेर स्मार्ट बनिरहेका हुन्छन् । अरुको सुनेर¸पढेर र हेरेर आफूले नयाँ सोच विकास गर्ने हो तर नक्कल वा चोरी गर्ने होइन । हुँदैन ।
सफलताको अर्को उपाय गुरु थाप्नु । कुनै सिनियरलाई गुरु बनाउनु पर्छ । मनमुखी नभै गुरुमुखी हुने । केही दुविधा वा अज्ञान भयो वा समस्या पर्नासाथ सोध्ने अभिभावक हुनुपर्छ । फोन गरिहाल्न सक्ने गुरु बनाउनु पर्छ । गुरुका ज्ञान¸ अनुभव¸सुझाउ¸ सीप कसरी हात पार्ने भनेर फकाउने कौशल हुनेले अति चाँडो प्रगति गरिरहेका हुन्छन् । रत्नराज्य क्याम्पसबाट हजारौंले पत्रकारितामा स्नातक गरिसके । तर प्रमाणपत्रधारी संख्या हेर्दा अति थोरैले मात्रै स्मार्ट पत्रकार बन्ने सौभाग्य पाएको भेटिन्छ । बरु पत्रकारिताको प्रमाणपत्र संकलन नगरेकाहरु अझ बढी सिपालु पत्रकारका रुपमा ख्याति कमाएको देख्न पाइन्छ । यस्तो हुनुका पछाडि स्मार्टको अर्थ अनुसार खट्ने खूबीका साथै गुरु वा सहकर्मी साथीहरुको वृत्त सहयोगी बनेको पाइन्छ । मन मिल्नेहरुको समूह वा वृत्त बनाउँदा स्मार्ट बनाउन सघाउ पुग्छ ।
अर्को गुरु गुगलेश्वर महादेव वा गुगलेश्वरी देवी । सर्च इन्जिनमध्ये नेपालमा सर्वाधिक प्रयोग हुने गुगल सबैका लागि प्रमुख गुरु हो भने पत्रकारको त पहिलो औजार नै त्यही हो । यी पंक्तिहरु लेख्दा पनि त्यसलाई गुरु मानिएको हो । प्रस्तुतिको जुक्ति मात्रै मौलिक हो । यस्तो पहिलो गुरुसंग साक्षात्कार गर्न चाहिने भनेकै भाषा हो । निरन्तर अभ्यास र भाषा प्रशिक्षणले बढीमा एक वर्षमा अभ्यस्त हुन सकिन्छ यदि दिलचस्पी भएमा । युट्युबमा त टुयुशन पढाउने ट्युटर नै फेला पर्न सक्छन् । जुनसुकै विषय इन्टरनेटका कुनै न कुनै कुनामा पाइन्छन् । तिनलाई फेला पार्ने सीप चाहिन्छ त्यस्तो सीप आफूभन्दा जान्नेबाट सिक्ने हो । सिक्नका लागि न उमेर न लाज । केही पनि हुँदैन । भनिएकै छ– विद्यातुराणाम् न क्षुधा न बेला । अर्थात् विद्याका निम्ति आतुर जो छन् उनीहरुका लागि भोक र समय केहीको पनि परबाह रहँदैन ।
अन्त्यमा सार खिच्ने हो भने– जतिसुकै स्मार्ट फोन र स्मार्ट व्यक्तिका कुरा गरेपनि फिचर फोन प्रयोक्ताको संख्या निमिट्यान्न नै भैजाला भन्न सकिन्न । त्यसैगरी सबैले स्मार्ट पत्रकार बन्न सम्भव पनि छैन¸ बन्न इच्छुक नहुन सक्छन् । स्मार्ट बन्न कति गाह्रो छ भन्ने कुरो बन्न खोज्नेलाई मात्रै थाहा छ । जेहोस्, यो दुनियां यसरी नै विविधतामा चलिरहन्छ । तसर्थ यी भनाइहरु बदलिँदो विश्व परिवेशमा स्मार्ट सोचतर्फका अति साना झिल्का मात्रै हुन् । अरु कुरा स्मार्ट बन्न खोज्ने वा नखोज्ने सबैको आफ्नै मर्जी । स्मार्टतिर जाने वा फिचरमै बसिरहने?


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News