मुलुक यतिबेला केरोनाको दोश्रो लहरको चपेटामा छ । संक्रमितहरुको संख्या दिन दुईगुणा र चौगुणा जसरी फैलिरहेको छ । भाइरस समुदाय स्तरमा फैलिएको छ । काठमाण्डौ उपत्यका लगायत देशका धेरैजसो भू– भागमा सरकारले निषेधाज्ञा पनि जारी गरेको छ । तथापि दैनिक संक्रमणको ग्राफ घटेको छैन । दैनिक ९ हजारभन्दा बढी संख्यामा संक्रमित भइरहेका छन भने मृत्यु हुनेको संख्या पनि २०० भन्दामाथि उकालो लागेको छ । अहिलेसम्म मृत्य संख्या ४ हजार नाघिसक्यो भने सक्रिय संक्रमितको संख्या १ लाख माथि छ । यद्यपि निको हुनेहरुको संख्या पनि उल्लेख्य छ ।
वास्तवमा अहिलको स्थिति जताततै त्रासपूर्ण छ । कतिबेला कसको मृत्युवरणको समाचार सुन्नु पर्ने हो भन्ने थाहा छैन । अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरको अभावले नागरिकहरुले अकालमा ज्यान गुमाइरहेका छन् । अस्पतालका प्राङ्गण र चौरहरुमा विरामीहरुको चाप छ । उनीहरु उपचारको पर्खाइमा छन् । साँच्चै भन्ने हो भने यस्तो भयावह अवस्था आउला भन्ने न त नागरिक स्तरमा चेतना भयो न त सरकरले नै त्यसतर्फ आफुलाइ तयारी अवस्थामा राख्यो । नागरिकहरुको हेलचेक्राइँले पनि यो परिवार स्तरमा पनि फैलिन थालेको छ । फलस्वरुपः स्थिति अत्यन्त कहाली लाग्दो छ ।
गत सालको भन्दा भिन्न र खतरनाक भेरिएन्टको कोरोना भाइरस भएकोले यो तीव्ररुपमा फैलिएको छ । यसले विरामीलाई छिट्टै आक्रमण गर्ने र शरीरमा अक्सिजनको मात्रा घटाइदिने र निमोनिया बनाइदिने भएकोले अक्सिजनको मात्रा उच्च प्रवाहमा आवश्यकता पर्छ । त्यसैले अक्सिजनको अभावले गर्दा अहिले दिनानुदिन अकालमा नागरिकहरुले ज्यान गुमाइ रहेका छन् । अझ भन्ने हो भने, प्रत्येक १० मिनेटमा १ जनाको ज्यान गइरहेको छ । अस्पतालहरुमा अक्सिजनको अभावले सेवामा कटौती गर्न थालेका छन् । भेन्टिलेटरको निकै कमी छ । समग्रमा स्वास्थ्य प्रणाली नै असफलतातिर उन्मुख छ ।
तर ठीक यही बेला, नेपालका राजनीतिक दलहरु भने निर्लज्जरुपमा सत्ता छिनाझप्टीको खेलमा अभ्यस्त छन् । यो समय भनेको सबै दलहरु एकताबद्ध भई कोभिड १९ को दोश्रो लहरका रुपमा भित्रिएको यो महामारी विरुद्ध एकतावद्ध भई त्यसलाई निस्तेज गर्ने योजना ल्याउनु पर्ने हो । आफ्ना नागरिकलाई जुनसुकै उपाय अपनाई जीवन रक्षाका लागि तल्लीन हुनु पर्ने हो । तर धिक्कार छ ! हाम्रा राजनीतिक दलका नेताहरु भने अत्यन्त निर्मम, अनैतिक तथा अराजक र अमानवीय भएका छन् । र, सत्ताको फोहरी खेलमा अहोरात्र रमाएका छन् ।
मूलतर्ः कुकुरलाई घिउ पच्दैन’ भने जस्तै हुँदाखाँदाको दुई तिहाई जनमतलाई अपमान गर्दै तत्कालीन सत्तारुढ दल नेकपाभित्र जनादेशको मर्म विपरीत अस्वाभविक किचलो उत्पन्न भयो । नेताहरुका वैयक्तिक स्वार्थ, अहंकार र महत्वकांक्षाले कम्युनिष्ट पार्टीले पाएको एतिहासिक जनमत र आन्दोलनप्रति घोर अपमान गर्दै अनावश्यक झगडा गर्न थाले । लगभग एक वर्षको सत्तारुढ दलको घरझगडाका कारण गत पुस ५ गते प्रतिनिधि सभा विघटन भयो । फाल्गुन ११ गते सर्वोच्च अदालतले विघटित संसदको पुनस्र्थापना गर्यो । फाल्गुन २३ गते सर्वोच्चको अर्को आदेशले तत्कालीन रुपमा भएको नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणलाई अमान्य ठहर गरेपछि राजनीतिले नितान्त फरक बाटो लिएको छ । कमजोर अवस्थामा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली आफ्नो पार्टी नेकपा एमाले ब्यँुतिएपछि नेपाली राजनीतिमा फेरि पनि बलशाली भएका छन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उनको पार्टी सहित सुरक्षित नै भएका छन् । तर प्रचण्ड क्याम्पमा लागेर प्रधानमन्त्री ओली विरुद्ध निरन्तर लागेका पद लोलुप र लेण्डुपे प्रवृतिका एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल समूह भने सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको छ । ओली सरकारले गुमेको नेपाली भू – भाग समेटेर बनाएको चुच्चे नक्शा र अन्य राष्ट्रियताको संबद्र्धनमा गरेका कार्यप्रति तिल्मिलाएको छ । उक्त समूहले आवरणमा विधि र पद्धतिको कुरा गर्ने तर प्रचण्डको निर्देशनमा तुरुन्तै नेकपा एमालमा आउनुको सट्टा बाहिर नै विभिन्न गतिविधि गरिरहेको छ । यही बीचमा फाल्गुण २८ गते पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटिको बैठक राखी पार्टीमा केही संगठानात्मक परिवर्तन गरी माओवादी केन्द्र छोडी आएका रामबहादुर थार्पा बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट प्रभु शाह र मणि थापा लगायतका २३ नेताहरुलाई केन्द्रीय कमिटिमा समावेश गरी उक्त कमिटिलाई महाधिवेशन आयोजक कमिटिमा परिणत गरेका छन् । पार्टीमा फर्किन नैतिक रुपमा कमजोर भइसकेको माकुने गुटलाई यो कदम राम्रो बहाना बनेको छ । गत चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरी यो समूहले देशव्यापी रुपमा समानान्तर कमिटिहरु बनाउदै आफ्ना गतिविधि जारी राखेको छ । अहिले यो समूह अत्यन्त अराजकरुपमा प्रस्तुत पनि भएको छ ।
पछिल्लो समयमा जब प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरे तब माकुने समूहका २८ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दे मतदान वहिष्कार गरी संसदीय इतिहासमा गम्भीर र अक्षम्य गल्ती गरेका छन् । यसअघि कर्णाली प्रदेशमा नेकपा एमालेको एकमना सरकार गठन हुने अवस्थामा पनि यो समुहले पार्टीको ह्वीप विपरीत फ्लोरक्रस गरी घात गरेको छ भने लुम्बिनी र गण्डकी प्रदेशमा पनि प्रचण्डको निर्देशनमा अराजकता मच्चाई राखेको छ । तथापि गण्डकी प्रदेशमा फेरि पनि एमालेको नेतृत्वमा नै सरकार गठन हुने देखिन्छ ।
वास्तवमा नेपाली राजनीतिमा माकुने र प्रचण्डहरुले अराजक प्रवृतिको रुपमा आफूलाई स्थापित गर्दैछन् । प्रचण्ड त जहिल्यै अस्थिरता सिर्जना गर्ने र नेपाललाई पछाडि धकेल्ने एक पात्र चर प्रवृतिमा स्थापित हो । त्यसमा अहिले नेकपा एमालेमा माकुने नयाँ हानिकारक प्रवृतिको रुपमा देखा पर्न थालेको छ । यसमा भीम रावलको उदण्ड प्रवृत्ति पनि देखा पर्दे छ । पार्टीमा कुनै सैद्धान्तिक तथा वैचारिक भिन्नतामा भन्दा पनि पद तथा प्रतिष्ठा र विगतको रीस पोख्ने काम यो प्रवसत्तिको हो । यो प्रवृत्तिले व्यक्तिगत स्वार्थ, कुण्ठा र महत्वकांक्षाले दलीय अनुशासनलाई पनि मान्न छोडिसकेको छ । यद्यपि प्रधानमन्त्री ओलीमा प केही समन्वयात्मक र लचिलोपनको गुणको अभाव नभएको होइन तर पछिल्लो समयमा माकुनेहरुले सिंगो एमालेलाई विभाजन गर्ने जुन हर्कत गर्दैछन् त्यो अक्षम्य छ । देशी विदेशी दक्षिणपंथी र राष्टियता विरोधी प्रतिक्रियावादीहरुको साठगांठ र गोटी बनेर यिनीहरु एमाललाई विभाजन गर्न खोजे पनि त्यो असंभव छ । एमाले आफूमा जनताको मनमस्तिष्कमा एउटा ब्रान्ड बनी सकेको छ । माकुने प्रवृतिले प्रचण्डको आदेशमा यो पार्टीको पतनमा आफ्नो भविष्य खोज्न थाले पनि यो मृगतृष्णा शिवाय अरु केही हुने छैन । किनभने नेकपा एमाले निर्माणमा माकुने र झलनाथ मात्रै होइन, लाखौ कार्यकर्ताको रगत पसनिा बगेको छ । यो पार्टी निर्माणमा आफ्नो मात्रै योगदान छ भन्ने तिनीहरुलाई लाग्छ भने त्यो अत्यन्त गलत सावित हुनेछ । हो, यसमा कोही सत्ताको पछि लागे पनि लाखौ कार्यकर्ता भुईं तहमा रहेर अहिलेपनि निस्वार्थ पार्टीको संगठन निर्माणमा क्रियाशील छन् ।
अहिले नेतृत्व गरेको पुस्ता सबै परिवर्तनले प्राप्त गरेका उपलब्धीको भोग चलन आफैले मात्र गर्न पाउनु पर्छ भन्ने र नयाँ युवापुस्ताका केही टाठाबाठा परानै नेतृत्वका पछि लाग्ने मनोवृतिले गर्दा हरेक पार्टीमा विग्रह देखिएको पनि छ । यसमा अहिलेको युवा पुस्ताका केही लोभीपापीहरु त्यही पथमा चलेका पनि छन् । फलस्वरुपः दोश्रो पुस्ताका असल नेताहरुको सार्थक भूमिका नहुँदा पनि नेकपा एमालेलाई विभाजन गर्ने तहसम्म माकुने खेमा लागेको छ । बुझ्नु पर्छ, यो पार्टीका कोही पनि मूलधारबाट वाहिरिए भने तिनीहरुको भविष्य अन्धकार नै हुनेछ । यसको ज्वलन्त उदाहरण नेपाली वाम राजनीतिका कुनै समयका शीखर व्यक्तित्व सि.पी. मैनाली हुन् ।
वस्तुतः बैशाख २७ गतेको प्रधानमन्त्री ओलीले विश्वासको मतदान लिइरहेको अवस्थामा आफ्नै पार्टी भित्रका माकुने खेमाका २८ जना सांसदहरुको जनविरोधी तथा पार्टीको ह्वीप विपरीत आत्मघाती कदमले प्रधानमन्त्री ओली संसदमा अल्पमतमा परेका छन् । जसले गर्दा अहिलेको सरकार स्वतः काम चलाउका रुपमा परिणत भएको छ । यसबीचमा बैशाख ३० गते ९ बजे रात्रीसम्मका लागि नेपालको संविधानको धारा ७६ को २ अनुसारको सरकार गठन गर्नाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट दलहरुलाई आव्हान भएको छ । यो अवधिमा मौजुदा प्रतिनिधि सभामा रहेका सांसदहरुको संख्याको बहुमत संख्या १३६ जना सांसदहरुको हस्ताक्षरसहित दाबी गर्ने कुनै पनि दलको प्रतिनिधि सभाको सदस्य प्रधानमन्त्री पदमा नियुक्त हुनेछ । यसमा प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले दाबी गर्ने कसरत गर्दैछन् । नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई खेमाको समर्थन रहे तापनि सरकार गठनका लागि सिंगो जसपाका समर्थन चाहिन्छ । अहिले नेकाको ६१, माकेको ४८ र जसपाको ३२ सांसदहरु भए तापनि जसपाको महन्थ ठाकुर पक्षमा देखिएका १५ जना सांसदहरुले देउवालाई समर्थन नगरेसम्म विपक्षीहरुको सरकार बन्ने संभावना छैन । ठाकुर समूह अहिलेसम्म तयार नभएको अवस्थामा फेरि पनि प्रधानमन्त्री ओली संविधानको धारा ७६ को ३ अनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु रहेको दलको नेताको रुपमा प्रधानमन्त्री नियुक्त हुने संभावना प्रवल छ । तथापि पार्टीभित्र अराजक समूहको रुपमा रहेको माकुने खेमाले पहिल्यै राजिनामा गरेन भने यो संभावनालाई नकार्न सकिदैन । त्यसपछि यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ अनुसार तीसदिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । यदि उपधारा ५ अनुसार प्रधानमन्त्रीमा राष्ट्रपतिबाट नियुक्त हुनेछ । तर उसले उपधारा ६ मा उल्लेख भए अनुसार उपधारा ४ बमोजिम विश्वासको मत लिन नसकेमा उपधारा ७ क्रियाशील भई उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा निजको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोकिने छ । यसरी देशको राजनीतिक कोर्र्स अर्लि निर्वाचन’ हुनेतिर जानेछ । यस्तो भएमा नेपालको राजनीति प्रधानमन्त्री ओलीको मार्गचित्र अनुसार नै चल्नेछ । तर चाहे पुनः के.पी. ओलीको नेतृत्वमा बनोस् वा अरु कसैको जसको बने पनि आम नागरिकहरुको जीवन रक्षा नै पहिले प्राथमिकता हुनु पर्छ । अहिलेको ज्वलन्त आवश्यकता कोभिड– १९ को महामारीबाट उन्मुक्ति नै हो । तसर्थः यतातिर सबैको गम्भीर ध्यान जाओस् ।
अस्तु ।