स्याङ्जाका ११ वटै पालिका प्रमुखले लिए शपथग्रहण

स्याङ्जाका ११ वटै पालिका प्रमुखले लिए शपथग्रहण

  • Kanchan News

  • शुक्रबार, जेष्ठ ६, २०७९

  • 73
    SHARES
स्याङ्जाका ११ वटै पालिका प्रमुखले लिए शपथग्रहण

स्याङ्जा । स्याङ्जाका ११ वटै पालिका प्रमुख तथा अध्यक्षहरूले शपथ लिनुभएको छ । जिल्लाका सबै स्थानीय तहको मत परिणाम आएसँगै बिहीबार सदरमुकाम स्याङ्जामा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश वसन्तराज पौडेलले जिल्लाका ५ नगरपालिका प्रमुख तथा ६ गाउँपालिका अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीशले पालिका प्रमुख तथा अध्यक्षहरूलाई शपथ खुवाएपछि पालिका प्रमुख तथा अध्यक्षहरूले उपप्रमुख तथा उपाध्यक्षहरूलगायतलाई शपथ खुवाउने व्यवस्था रहेको जिल्ला न्यायाधीश पौडेलले बताउनुभयो ।

नवनिर्वाचित वालिङ नगरपालिकाका कृष्ण खाँण, पुतली बजारका तुलसीराम रेग्मी, गल्याङका गुरुप्रसाद भट्टराई, भीरकोटका गोविन्द कर्माचार्य, चापाकोटका देबबहादुर खाँण तथा फेदिखोला गाउँपालिकाका घनश्याम सुवेदी, आँधिखोलाका विश्व पौडेल, अर्जुनचौपारीका प्रकाश तिवारी, कालीगण्डकीका खिम थापा, बिरुवाका सूर्य कुँवर र हरिनासका खिमनारायण मानन्धरले शपथ लिनुभएको हो ।

जिल्ला समन्वय समितिको सभा हलमा उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ गराउँदै प्रमुख निर्वाचन अधिकृत पौडेलले जिल्लामा भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो । उहाँले सहयोग गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिँदै स्थानीय तहको अधिकार भित्र रही विकास र समृद्धि गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दासले अघिल्लो कार्यकालका जनप्रतिनिधिले स्थानीय तहको भौतिक पूर्वाधार, कानून निर्माण लगायतमा आधार स्तम्भ तयार पारेकाले बाँकी काममा खटिन अनुरोध गर्नुभयो ।

उहाँले जिल्ला समन्वय समितिको गठन तर्फ लक्षित गर्दै मतदाताले २ पार्टीलाई मिलेर जान सन्देश दिएकाले सहकार्य र सह अस्तित्वबाट अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले यसअघि दलीय प्रतिनिधिको रुपमा प्रतिस्पर्धामा भएपनि निर्वाचित भएपछि सबैको प्रतिनिधि भएकाले साझा भई भूमिका निभाउन अनुरोध गर्नुभयो । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले गर्नुभएको थियो ।

त्यस्तै जिल्लाका सम्पुर्ण पालिकामा सम्बन्धित मतदान अधिकृतहरूले प्रमाणपत्र वितरण गरिसक्नुभएको छ । शपथ ग्रहण भने पालिका प्रमुख तथा अध्यक्षले समय मिलाएर गर्ने हुनाले केहीले बिहीबार नै शपथ खुवाउने कार्यक्रम सम्पन्न गरेका छन् भने केहीले भोलि शुक्रवार गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै अन्तिम मत परिणाम सार्वजनिक भएको १५ दिनभित्र कार्यपालिका चुनाव गर्ने प्रावधान रहेकाले केही पालिकाले सूचना टाँस गरिसकेका छन् भने केही पालिकाले भोलि गर्दैछन । जिल्लाका ११ पालिकामा ५ गाउँपालिका एमाले, ५ नगरपालिका काँग्रेस र १ नगरपालिकामा भने प्रमुख एमाले र उपप्रमुख काँग्रेसले जितेको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News