काठमाडौं ।
सबैतिरबाट विरोध खेपी रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिरोधमा विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टी पनि उत्रिएको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् । सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।