सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र देशमा व्यस्त भ्रस्टाचारका विरुद्ध नयाँ पुस्ता (जेनजी) को प्रदर्शनलाई सत्ताको नेतृत्व गरेको नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्ववतन्त्र विद्यार्थी युनियनका नेताहरुले आलोचनात्मक समर्थन गरेका थिए ।
पार्टी नेतृत्वकै कारण पनि विद्यार्थी नेताहरु खुलेर आन्दोलनको पक्षमा लाग्न सकेका थिएनन् ।जेनजीको प्रदर्शनमा प्रहरीको दमनले अकल्पनीय मानवीय क्षति पुगेपछि भने एमालेनिकट अनेरास्ववियुका विद्यार्थी नेताहरुले धमाधम संगठन र पार्टी सदस्यतासमेत त्यागेको घोषणा गरेका छन् | प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि चौतर्फी सरकारको आलोचना र विरोध भइरहेको छ ।
जेनजीले गरेको प्रदर्शनमा पनि अनेरास्ववियुका नेताहरु खासै देखिएका थिएनन् तर सरकारी दमनका कारण हिंसात्मक घटना भएपछि भने पार्टीप्रति असन्तुष्टि जनाउँदै सदस्यता त्यागिरहेका छन् ।
अनेरास्ववियुको निवर्तमान विदेश विभाग प्रमुख तथा नेतृ स्मृति बरालले एमाले र संगठनको कुनै पनि पदमा नरहेको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेकी छन् ।
सोमबारको घटना दमनमात्र नभएर शासकको दम्भ प्रदर्शनसमेत भएको भन्दै उनले पार्टी र संगठन छाडेको बताएकी हुन् ।
‘आज जुन तरिकाले राज्यले दमन ग¥यो, त्यो केवल दमन मात्र होइन शासकको दम्भको खुला प्रदर्शन हो,’ स्मृतिले लेखेकी छन्, ‘आजसम्म म जुन झण्डामुनि विद्यार्थी आन्दोलनमा सक्रिय रहेँ, त्यो झण्डा छोडेर मैले केवल देशको झण्डालाई आत्मसात गरेको घोषणा गर्दछु ।’
अनेरास्ववियुले आज त्यो आफ्नै अस्तित्व जोगाउन असफल भएको उनको भनाइ छ । ‘विद्यार्थी/युवाको आन्दोलन कुनै संगठनको झण्डामुनि मात्र सीमित हुँदैन-देशको झण्डा ओढेर पनि आन्दोलन गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘यसकारण, आजको दिनदेखि म नेकपा एमाले वा त्यसका कुनै पनि जनवर्गीय संगठनसँग सम्बन्धित छैन भन्ने कुरा स्पष्ट गर्दछु ।’
२०७१ सालमा एमालेको संगठित सदस्यता लिएर विद्यार्थी आन्दोलनमा जोडिएका अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक विश्वदर्शन पराजुलीले पनि अलग भएका छन् ।
‘मेरो पार्टी र मेरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्ता युवा संगै सिंगो राज्य र जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिन !’ उनले फेसबुकमा लेखेका छन्,’ ‘आजैका मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निस्क्रिय पार्दै अनेरास्ववियुमा रहेको मेरो सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु ।’
जेनजी पुस्ताको आन्दोलनमा सहभागी भएका अर्का विद्यार्थी नेता निकेश गिरीले पनि अनेरास्ववियु छाडेको बताएका छन् । सरकारको दमनको विरोध र जेनजी भएको नाताले यो आन्दोलनलाई समर्थन गर्दै उनले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका छन् ।
उनी पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको अनेरास्ववियुका सचिव हुन् । एमालेनिकट जनसाहित्यिक संघ गण्डकीको सहसचिवसमेत रहेका गिरीले कुनै बेलाको गौरवशाली संगठन अब नरहेको बताएका छन् ।