जसपाको विवाद आज टुङ्गो लाग्दै : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

जसपाको विवाद आज टुङ्गो लाग्दै : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

  • Kanchan News

  • सोमवार, साउन ११, २०७८

  • 226
    SHARES
जसपाको विवाद आज टुङ्गो  लाग्दै : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ ।

सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको हो ।

कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै छ । जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । तीमध्ये आफूहरुको पक्षमा ३३ सदस्य रहेको यादव पक्षको दाबी छ ।

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।

जसपाको आधिकारिकता विवाद समाधान गर्न आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।

त्यसविरुद्ध ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आइतबार आदेश दिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News