वनमा डढेलोको चिन्ता

वनमा डढेलोको चिन्ता

  • डा. केदार कार्की

  • आइतवार, बैशाख १६, २०८१

  • 224
    SHARES
वनमा  डढेलोको चिन्ता

देश  र विदेशमा जङ्गल जलिरहेको छ । जङ्गलमा आगो लागेको छ । वनको आगो नियन्त्रण गर्न नसकेसम्म निभाउन सकिँदैन । यसले बढ्दै जान्छ र जैविक विविधतालाई नष्ट गर्दछ। जैविक विविधताको विनाशले प्रकृतिको सन्तुलन बिग्रन्छ । वनले उत्थानको प्रेरणा दिन्छ। यहाँको हरियालीले मनलाई अनौठो आनन्दले भरिदिन्छ । आगो आफैले लगाएको हो वा लगाइएको हो त्यो अनुसन्धानको विषय हुन सक्छ । यसका पछाडि मानिसको असाबधानी  र लापरवाही पनि मुख्य कारण हुनसक्छ तर आर्थिक दृष्टिले पनि जैविक सन्तुलन र अर्थशास्त्रको दृष्टिकोणले पनि जंगलमा आगलागी उपयुक्त नहुनु पनि यसको प्रमुख कारण रहेको छ ।

छिमेकी उत्तरी भारतका केही भाग र  नेपालमा १५ वर्षयताकै शक्तिशाली डढेलो लागेको वैज्ञानिकहरूले बताएका छन्।युरोपेली सङ्घको कोपर्निकस एट्मस्फेरिक मनिटरिङ सर्भिस (सीएएमएस) का अनुसार उत्तराखण्डमा लागेको डढेलोबाट गत महिनामा मात्र करिब ०.२ मेगा टन कार्बन उत्सर्जन भएको छ।कार्बन उत्सर्जनको यो मात्रा सन् २००३ यता सबैभन्दा धेरै हो।भूउपग्रहबाट प्राप्त तस्बिरहरूमा आधारित भई गरिएको विश्लेषणानुसार सोही अवधिमा नेपालमा डढेलोबाट करिब १८ मेगा टन कार्बन उत्सर्जन भएको छ।यसले यो क्षेत्रमा लागेको डढेलो स्तरलाई देखाउँछ र त्यो एकदम चिन्ताजनक छ,” सीएएमएसस्थित वरिष्ठ वैज्ञानिक मार्क पेरिङ्टनले भने।डढेलोका कारण उत्तराखण्ड र नेपालमा गरी अहिलेसम्म करिब २० जनाको ज्यान गइसकेको छ।हजारौँ हेक्टर जङ्गलमा डढेलो लागेको ठानिएको छ। यद्यपि त्यसबारे आधिकारिक तथ्याङ्क भने सार्वजनिक भइसकेको छैन।गत महिना नेपालमा एकै दिन ५०० वटाजति डढेलो फैलिएको बताइएको छ।यो क्षेत्रका जङ्गलहरूमा मे महिनामा डढेलो लाग्ने गर्छ। अझ नराम्रो समय आउन अझै बाँकी छ भन्ने चिन्ता मानिसहरूमा रहेको पाइन्छ।हुन त अहिलेका डढेलोका प्रत्यक्ष कारण जलवायु परिवर्तन नभएको वैज्ञानिकहरू बताउँछन् तर जलवायु परिवर्तनले यो क्षेत्रमा सुक्खा चाहिँ निम्त्याएको छ।

लामो समय वर्षा नहुँदा देशका विभिन्न क्षेत्रमा लागेको डढेलो दिनहुँ बढ्दै जान थालेका छन् । चैतको शुरुवातीदेखि नै लागेको डढेलो क्रमशः बढ्दै जान थालेको हो । यसले चुरे क्षेत्रमा मात्रै होइन सामुदायिक वनहरुमा समेत प्रभाव पार्न थालेको छ । तराईमा गहुँ काटेपटि लगाइने आगो र वन क्षेत्रमा बढेको डढेलोले गर्मी पनि ह्वात्तै बढ्न थालेको हो ।  पहिले तराई क्षेत्रसँग जोडिएका वनहरु धेरै प्रभावित भएपनि अहिले कम जोखिम मानिएको पहाडी र हिमाली क्षेत्रमा पनि डढेलो लागेपछि थप समस्या बढेको हो । पहिले बढी डढेलो लाग्ने वैशाखको दोस्रो सातादेखि भनिएपनि वर्षा नभएका कारण यसपटक चैतबाटै यसको प्रभाव बढेको हो । सरकारी कार्यालयहरुले डढेलो नियन्त्रणका लागि बजेट, दक्ष जनशक्ति अभाव हुँदा बढी क्षति बढेको बताइरहेका छन् । नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने र वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान सरकारी कार्यालयको छ । तर जैविक क्षेत्रमा यसको असर कति भनेर मापन गर्न सकिदैन । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा बढी मध्यफागुनदेखि मध्यवैशाखसम्म हुने गर्दछन् । लामो खडेरी, उच्च वेगको हावाहुरी र अत्यधिक गर्मीका कारण उक्त अवधिमा डढेलोको उच्च जोखिम हुन्छ ।

१० वर्षमा आगलागीडढेलोका घटना तेब्बरले बढेको सरकारी तथ्यांक छ । प्रहरीबाट जाहेरी आएपछि मात्रै प्राधिकरणमा डढेलोको रेकर्ड राख्ने व्यवस्था भएकाले वास्तविक संख्याभन्दा अहिलेको भन्दा बढी हुन्छ ।डढेलोका कारण लोपोन्मुख बोटबिरुवा‚ पशुपन्छीको अस्तित्व सङ्कटमा पर्दै गएको छ । यस्तै‚ डढेलोले चरन क्षेत्र र वासस्थान नासिएपछि जङ्गली जनावरहरू बस्ती क्षेत्रमा पुग्दा मानव–जनावर द्वन्द्व बढ्न थालेको छ । जङ्गली जनावर मर्ने तथा मान्छेको पनि ज्यान जाने घटना भइरहेका छन् । डढेलोले पानी मुहानमा समेत असर परेको छ ।  पछिल्ला वर्षहरूमा सङ्कटापन्न र जोखिम–उन्मुख वनस्पति रहेको हिमाली क्षेत्रमा समेत डढेलोको प्रकोप बढेको छ । डढेलोबाट धूपी‚ भुइँचिमालो, भोजपत्र, चाँप, यार्सागुम्बालगायत जडीबुटी जलेको विज्ञ बताउँछन् । यो नोक्सानीको कुनै मूल्यांकन गरिएको छैन ।

विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ । डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ । ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको विज्ञहरू बताउँछन् ।विगतमा यदाकदा प्राकृतिक रूपमा डढेलो लाग्ने गरे पनि अहिले मानवीय कारणले डढेलोका घटना बढिरहेको छन् । पहिले प्राकृतिक हिसाबले वनमा डढेलो लाग्नेगरेपनि अहिले मान्छेले कि त जानेर कि त लापरवाही गरेर डढेलो लाग्ने गरेको छ । वन पैदावारको चोरी‚ तस्करी वा नयाँ पालुवाका लागि पनि डढेलो लगाइदिने  क्रम बढेको छ । यसबारे सचेतना बढाउने र यसमा संलग्नको अनुसन्धान गरेर कडा कारबाही गराउने नै यसको विकल्प हुनसक्छ ।

एक अध्ययनले जलवायु परिवर्तनका कारण पनि डढेलोका घटना बढिरहेको देखाएको छ । जलवायु परिवर्तनको असरका कारण नेपाल विश्वको नवौं जोखिमयुक्त देशमा पर्छ । जलवायु परिवर्तनले इन्धन, अक्सिजन र आगोका स्रोतलाई मद्दत पुगिरहेको हुन्छ भने जलवायुमा आएको परिवर्तनले वर्षाको ढाँचा परिवर्तन भइरहेको छ । खडेरी बढिरहेको छ । जसका कारण पनि डढेलोका घटना बढेका हुन् ।

अर्कोतर्फ मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि डढेलोका घटना बढाएको देखिन्छ ।  विगतमा वनमा दाउरा र खोस्मेरो (सुकेर झरेको पात) सङ्कलनमा प्रतिस्पर्धा हुने भए पनि पछिल्लो समय सङ्कलन गर्न नै छोडिएको छ । दाउराको सट्टा गोबर ग्यास तथा एलपी ग्यासको प्रयोग हुन थालेको छ । गाईभैंसी पाल्न छोडेपछि वनमा आश्रितको संख्या घट्दै गएको छ । यस्तै‚ गाउँबाट शहरमा बसाइँसराइ हुँदा खेतबारी बाँझिएको छ । सुक्खा मौसममा सुकेका पातपतिङ्गरमा आगो चाँडो सल्किने भएकाले पनि डढेलोको प्रकोप बढी हुने गरेको छ । प्रज्वलनशील पदार्थ व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको छ । पातपतिङ्गर सङ्कलन गरेर व्यवस्थापन गर्न सके डढेलोका घटनालाई कम गर्न सकिन्छ । डढेलो नियन्त्रणका लागि स्याउला एवं पत्कर सोहोर्ने परम्परागत कार्यलाई पनि निरन्तरता दिन केही विज्ञहरुले सुझाएका छन् । यसलाई जम्मा गरेर मल बनाउने  कृषि क्षेत्रमा प्रयोग गर्ने विषय पनि जोडिनसक्छ ।

वन डढेलो व्यवस्थापनका चुनौती

वन डढेलो निभाउन आधुनिक सामग्री तथा औजार पर्याप्त नहुनु, डढेलो निभाउन बजारमा उपलब्ध सामग्री महँगो हुनु र भएको पनि गुणस्तरीय नहुनुजस्ता चुनौती छन्। यसैगरी  दक्ष जनशक्ति, पर्याप्त बजेट तथा यसबारे आवश्यक प्रचारप्रसार हुन नसक्नु मुख्य चुनौती रहेका छन्।गरिबी, अशिक्षा र सामाजिक रुढीवादी परम्पराका कारण पनि वन डढेलोबारेमा बुझाउन कठिन हुने गरेको छ। साथै दुर्गम ठाउँमा डढेलो लागेको सूचना प्राप्त हुँदा पनि भौगोलिक विकटताका कारण नियन्त्रण गर्न नसकिने व्यवस्थापनको चुनौती हो।  भौगोलिक बनोट असजिलो भएको कारण अग्नि नियन्त्रक तथा अग्निरोधक साधन घटनास्थल पुग्न कठिनाइ हुने र ढिला पुग्दा डढेलो धेरै फैलिएर नियन्त्रणमा कठिनाइ हुनु चुनौतीका रूपमा छन्।

आगलागी प्रायः मानवीय त्रुटिका कारण हुने गर्छ । यसलाई नियन्त्रण नगरी वनजंगल राम्रो हुन सक्दैन । जंगलमा लागेको आगलागीका कारण वन्यजन्तु पनि त्रसित हुन्छन् र अन्ततः मानव समाजका लागि घातक बन्छन् । यस्तो अवस्थामा वनमा लागेको आगो निभाउने हरसम्भव प्रयास गर्नु जरुरी छ । वन नहुँदा मानव अस्तित्व पनि खतरामा पर्नेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News