रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा दुईजनाको ज्यान गएको छ । ललितपुरको बालकुमारीमा भएको झडपका क्रममा अछाम चौरपाटी– १ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु– ६ का सुजन राउतको मृत्यु भएको हो ।
शाहको गोली लागेर र राउतको भागदौडका क्रममा घाइते भएर मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घटनाको सर्वत्र निन्दा भएको छ । विरोध जनाउने क्रममा युवाहरूले भौतिक योजनामन्त्री प्रकाश ज्वाला चढेको बा.२झ ५८६१ नम्बरको गाडी रोकी आगो लगाइदिएका छन् । आक्रमण हुने देखेपछि मन्त्री ज्वाला र उनका पिएसओ तथा चालक भने गाडीबाट निस्किएका थिए । गाडीमा आगो दन्किएपछि मात्र प्रहरी त्यहाँ पुगेको थियो । त्यसपछि आक्रामक बनेको प्रहरीले अन्धाधुन्ध बल प्रयोग गरेको थियो ।
श्रम मन्त्रालयको इपिएस शाखाले कोरियन भाषा परीक्षामा पास भएकाको गत २४ मंसिरदेखि ‘सिप’ परीक्षा लिएको थियो । जसअन्तर्गत सुरुमा पानीजहाज निर्माण क्षेत्रमा जाने श्रमिकको परीक्षा भएको थियो । त्यसपछि २ पुसदेखि उत्पादन क्षेत्रका कामदारका लागि आवेदन खुलाएको थियो । तर, त्यसमा निर्माण क्षेत्रमा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई सहभागी गराइएको थिएन । यसअघि निर्माण क्षेत्रको परीक्षामा फेल भएका युवा आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने मागसहित इपिएस कार्यालय धाइरहेका थिए ।
त्यही क्रममा उनीहरू शुक्रबार पनि दबाब दिन बालकुमारीस्थित इपिएस कार्यालय पुगेका थिए । तर, त्यहाँ उनीहरूलाई प्रवेश नै दिइएन, प्रहरीले तितरबितर बनाउन खोज्यो । त्यसपछि थप आक्रोशित भएका उनीहरू संगठित रूपमै प्रदर्शनमा उत्रिएका थिए । इपिएस शाखाले व्यवस्थित ढंगले बुझाउने तथा समाधान गर्ने प्रयास नगर्दा भिड अराजकतामा उत्रिएको प्रहरी अधिकारीको दाबी छ ।
इपिएस शाखाका प्रमुख गुरुदत्त सुवेदीले भने एक वर्षमा एक क्षेत्र (निर्माण वा उत्पादन)को परीक्षा दिइसकेको व्यक्तिले अर्को क्षेत्रको परीक्षा दिन नपाइने कोरिया सरकारकै नीति रहेको बताए । त्यसको जानकारी युवाहरूलाई गराइएको उनको दाबी छ ।
निर्माण क्षेत्रको परीक्षामा फेल भएका सुरज पाठकसहितका १८ युवाले उत्पादन क्षेत्रमा पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । उच्चले गत ५ पुसमा उनीहरूको पक्षमा आदेश दियो । इपिएस शाखाका प्रमुख सुवेदी अदालतको आदेशबमोजिम १८ युवालाई कार्यालय बोलाइएको बताउँछन् । बाँकी युवाको माग पनि त्यो आदेश आफूहरूको हकमा पनि लागू हुने भन्ने थियो, तर इपिएस कार्यालय त्यसमा तयार थिएन ।
ललितपुर प्रहरीले भने सुरुमा लाठीचार्ज गरेको, त्यसपछि अश्रुग्यास तथा रबर बुलेट प्रहार गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको बताएको छ । थप क्षति हुन नदिन गोली चलाउनैपर्ने अवस्था आएको ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीले बताए । ‘सुरुमा त माइकिङबाटै सम्झाउने प्रयास गरेका हौँ,’ उनले भने, ‘त्यसपछि अश्रुग्यास प्रहार ग¥यौँ, रबर बुलेट प्रहार गयौँ, हवाईफायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको हो ।’ युवाहरूको विरोध प्रदर्शन र झडपका कारण दिनभर बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो । करिब साँझ ५ बजे मात्र स्थिति शान्त भयो ।
यसैबीच घटनाको छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जसमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन् ।
कहाँ चुक्यो प्रहरी ?
कसैले नेतृत्व नगरेको आन्दोलन जुनसुकै वेला हिंसात्मक हुन सक्छ भन्ने कुरा गत वर्ष काठमाडौंको गोंगबु क्षेत्रको घटनाले देखाइसकेको छ । तर, प्रहरीले त्यसबाट पाठ सिकेको देखिएन । सोही कारण शुक्रबार बालकुमारीमा ठूलो क्षति हुन पुग्यो । कोरिया जाने परीक्षाको आवेदन दिन नपाएपछि युवाहरू इपिएस शाखालाई दबाब दिन भेला भएका थिए । तर, कर्मचारीले उनीहरूलाई राम्रो व्यवहार नगरेपछि उनीहरू भड्किए, जसको आकलनमा प्रहरी चुक्यो । जब कि उनीहरूले केही दिनयता त्यहाँ आन्दोलन गर्दै आएको विषयमा प्रहरी जानकार थियो ।
नेतृत्वविहीन भिड अप्रत्याशित हुने कुरामा प्रहरी सचेत हुनुपर्नेमा शुक्रबार बालकुमारीमा त्यो नदेखिएको अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी बताउँछन् । ‘यस्ता भिड जतिसुकै वेला अराजक हुन सक्छन् भनेर सुरक्षा निकायले जोखिम मूल्यांकन गरेको देखिएन,’ उनले भने, ‘अर्काेतर्फ प्रहरीले खस्किएको मनोबलका कारण पनि क्षति धेरै भएको हुन सक्छ नयाँपत्रिकामा खबर छ ।।’