
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७ मा भनिएको छ,–कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन।’ तर, शुक्रबार राजावादीहरूको नाममा तीनकुने क्षेत्रमा भएको आन्दोलनमा भिडियो खिचिरहेका पत्रकार रहेकै घरमा आगो लगाएर ज्यान लिइयो। अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयभित्र पत्रकार र कर्मचारी कार्यरत रहेकै बेला आगजनी गरेर मार्ने प्रयास भयो। त्यति मात्र होइन, निजी घरमा आगजानी गरियो, व्यापारिक प्रतिष्ठानमा लुटपाट गरियो। सरकारी कार्यालय र सवारी जलाएर नष्ट गरिए। आन्दोलनका नाममा भएको ध्वंस मच्चाए, आपराधिक गतिविधि गरे। सरकारले त्यस्ता गतिविधिमा संलग्न र उकास्नेहरूलाई पक्राउ गरिरहेको छ। संविधान र कानुनका विज्ञहरू– आपराधिक गतिविधिमा संलग्नमाथि ७ वटा कानुन आकर्षित हुने बताउँछन्। उनीहरूका अनुसार राज्यविरुद्धको कसुर, व्यक्ति हत्याको कसुर, ज्यान मार्ने उद्योग, आगजनीसम्बन्धी कसुर, चोरी तथा डाँकासम्बन्धी कसुर र संगठित अपराधमा उनीहरूमाथि कारबाही गर्नुपर्ने कानुन र संविधानविद्हरूको भनाइ छ।
राजसंस्था पुनस्र्थापनाको नाममा भएको अराजक प्रदर्शनमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरिरहेको। उनीहरूमाथि मुद्दा चलाउने तयारी गरेको छ।
संविधानको धारा १ को उपधारा २ मा भनिएको छ, ‘यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने छ।’
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलनको नाममा गरिएको प्रदर्शनमा सञ्चारकर्मीको ज्यान लिनुका साथै सुरक्षाकर्मीलाई समेत ढुंगामुडा गरिएको प्रमाण भएकाले राज्यविरुद्धको कसुर आकर्षित हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए।
राष्ट्रहित प्रतिकूलको आचरण र कार्य गर्नेहरूलाई संघीय कानुनबमोजिम नै दण्डनीय हुने संविधानमा नै उल्लेख छ।
आकर्षित हुन सक्ने सम्भावित मुद्दाहरू
कानुनविद्हरूका अनुसार, गैरसंवैधानिक एवं गैरराजनैतिक तरिकाले उच्छृंखल रूपमा सञ्चारगृह, सार्वजनिक एवं निजी सम्पत्ति, कार्यालय, व्यापारिक प्रतिष्ठानमा नियोजित रूपमा आक्रमण, आगजनी, तोडफोड र लुटपाट गर्नेहरू विरुद्ध आधादर्जन कसुरहरू आकर्षित हुन्छन्।
मुद्दा नं १ : राज्यविरुद्धको कसुर
मुद्दा नं २ : व्यक्ति हत्याको कसुर
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ मा कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न नहुने उल्लेख छ। यस खालको कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।
पत्रकार रजकलाई कोठामा बन्धक बनाएर ज्यान लिएको र महर्जनको गोली लागेर ज्यान गएकाले व्यक्ति हत्याको कसुरमा मुद्दा चलाउन सकिने फौजदारी कानुनका विज्ञहरू बताउँछन्।
मुद्दा नं ३ : ज्यान मार्ने उद्योग
कसैले रोकेको अवस्थामा ज्यान मर्न नपाएको स्थितिमा ज्यान मार्ने उद्योगमा कसुर चलाउन सकिने जानकारहरू बताउँछन्। तर, त्यसका लागि आपराधिक क्रियाबाट मनशाय पत्ता लगाउनुपर्ने हुन्छ।
प्रदर्शनकारीले अन्नपूर्ण मिडिया नेटवर्कका पत्रकार र कर्मचारी कार्यालयभित्र रहेको बेला बाहिरबाट ढुंगाप्रहार गर्नुका साथै भुइँतलामा आगजनीसमेत गरेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकको कर्पोरेट कार्यालयमा अन्धाधुन्ध ढुंगा र इँटा प्रहारबाट कार्यालयका सिसा झर्यामझुरुम फुटेको छ। भुइँतलामा आगजीन गर्नेबित्तिकै कार्यालयका सुरक्षाकर्मीले आगो निभाएका थिए। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार, अन्नपूर्ण पोस्ट्लगायत विभिन्न सञ्चार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने कार्य भएको छ। प्रदर्शनकारीहरू कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुंगामुढा गरी समाचार कक्षसम्म आतंक सिर्जना गरिएको छ। यस्तै हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गर्ने कार्य भएको जानकारी महासंघमा प्राप्त भएको छ। महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र सञ्चारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासंघको ठहर छ।’
कसुर नं ४ : आगजनीसम्बन्धी कसुर
संसद् भवनबाट भक्तपुरतर्फ घर फर्कंदै गरेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी बालकुमारीमा जलाइदिएका छन्। त्यस्तै प्रदर्शनकारीले पार्किङ गरिएको लागुऔषध नियन्त्रण ब्युरोको गाडी पनि जलाएका छन्। नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनबीचको झाँडीमा समेत आगजनी गरेका छन्।
आगजनीका घटना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने, कोटेश्वर, बानेश्वर, तीनकुने, र गौशाला क्षेत्रमा शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको थियो ।
कसुर नं ५ : चोरी तथा डाँकासम्बन्धी कसुर
प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जबरजस्ती प्रवेश गरी लुटपाट गरेका छन् । संगठित रूपमा प्रवेश गरेका प्रदर्शनकारीको समूहले मोबाइल, लत्ताकपडा, मदिरा लगायतका उपभोग्य सामग्रीहरू लुटेका छन्।
कसुर नं ६ : संगठित अपराध
तीनकुनेस्थित अधिवक्ता राजकुमार सुवालको बन्द रहेको ल फर्ममा तोडफोड भएको छ। शुक्रबार सिलवाल सहितका कानुन व्यवसायीहरू अदालत परिसरमा रहेको बेला आन्दोलनकारीले तोडफोड गरेका हुन्। अधिवक्ता सुवाल भन्छन्, ‘बन्द कार्यालयभित्र छिरेर तोडफोड भएको छ। तोडफोड गर्ने अराजकहरूविरुद्ध जाहेरी दिने तयारी गर्दै छु। दोेषीलाई कानुनी दायरामा ल्याउनै पर्छ। छोड्नु हुँदैन।’ प्रदर्शनकारीले बालकुमारी चोकबाट अघि बढेको भीडले बाटोमै पर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा पनि ढुंगा प्रहार गरेका थिए।घटनाको अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतका अनुसार, व्यक्ति हत्याका साथै राज्यविरुद्धको अपराध, अपराधिक उपद्रव, एकीकृत कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको छ।
अधिकारको दुरुपयोग
शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकार हो। तर, प्रदर्शनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेस, व्यवसायि , सर्वसाधारणलाई आतंकित र त्रसित बनाउने कार्यको सर्वत्र निन्दा गरिएको छ। नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएशन , नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न पेसागत संघ संगठनले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल कानुनी कठघरामा उभ्याउन सरकारसँग जोडदार माग गरेका छन्। क्षति पुर्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मी, कानुन व्यवसायी, उद्योगी लगायतको सुरक्षामा गम्भीर हुन आग्रहसमेत गरेका छन्। अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको मागसमेत गरेका छन्। अाजकाे अन्नपूर्ण पाेष्टमा खबर ५।