राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए।
यो पनि पढ्नुहोस :
नेपालमा भारतीय चलचित्रको छायाङ्कन बढ्दै
केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ। अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको धेरै भएको छैन।
विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो। त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन्।
गत साता मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो। त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खलाको छायाङ्कन काठमाडौँदेखि पोखरासम्म गरे। अभिनेता अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को छायाङ्कनसमेत पोखरामा भएको थियो। यी प्रतिनिधि नाम मात्र हुन्। ससाना शृङ्खला, साङ्गीतिक भिडियो उत्तिकै सङ्ख्यामा छायाङ्कन भइरहेका हुन्छन्।
नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन डिजाइनर अरुण रेग्मीले जानकारी दिए। उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपाल व्यवस्थापनको काम गरिसकेको छ। चलचित्र छायाङ्कनमा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन्।
“विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ। उहाँहरूको काम गर्ने शैली परिपक्व छ। ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ”, प्रोडक्सन डिजाइनर रेग्मीले भने। विशेषतः विदेशबाट नेपालमा छायाङ्कन टोली आउँदा एक सयभन्दा बढी प्राविधिक आउने गरेका छन्। उनीहरूले स्थानीयसँग सहकार्य गरेर काम गर्ने गरेका छन्।
‘मिराई’ को नेपाल व्यस्थापन हेरेका प्रोडक्सन डिजाइनर मनोज जोशीले काम गर्न सहज भएको बताए। “उहाँहरुसँग काम गर्दा आफ्नो जिम्मेवारी लिएपछि ढुक्क हुन्छ। नेपाललाई मन पराएको भन्ने नै सुन्छु। नेपालीको स्वागत सत्कारले उहाँहरुलाई लोभ्याएको पाएको छु”, जोशीले भने। समूहमा काम गर्दा बलिउडका ठूला कलाकारले पनि सरलता प्रस्तुत गर्ने प्रोडक्सन डिजाइनर रेग्मीले बताए। उनले भने, “दिग्गज कलाकारको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गथ्र्यो। कामप्रतिको लगाव तारिफ योग्य छ।।”
नेपाल सरकारले विदेशबाट छायाङ्कनमा आउने चलचित्रलाई सेवासुविधा प्रदान गरे सङ्ख्या वृद्धि हुने अर्का प्रोडक्सन डिजाइनर शङ्कर पाण्डेले बताए। “विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ। अहिले नेपाल हाम्रोभन्दा पनि उनीहरुकै कारणले आइरहेका छन्”, प्रोडक्सन डिजाइनर पाण्डेले भने।