राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वअध्यक्ष थापाले पार्टीभित्र देखा
पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना भएपनि सुनुवाइ नभएपछि राजिनामा गर्न बाध्य भएको बताउनुभयो । साथै थापाले भारी मन तथा पिडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको
विज्ञप्तिमा उल्लेख छ । थापाले विज्ञप्तिमा भन्नुभएको छ, “अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छ। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पाटी मै
रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ।” साथै उहाँले राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति आभारी व्यक्त गर्दै कसैसँग पनि वैरभाव नरहेको बताउनुभएको छ ।