नेकपा एमाले जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। सहमति नजुटेपछि एमालेको अध्यक्षसहित अन्य पदका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको हो। सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको थियो।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ।पदाधिकारीतर्फ अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको उम्मेदवारी परेको छ।
सचिवतर्फ भने गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीम प्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ। ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन्। केहि केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ।
प्रविधिमैत्रीमा जोड दिदै एमालेले १० औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको थियो। अबको केहि समयपछि मतगणना हुने निर्वाचन आयोगले जनाएको छ।