
उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।
उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले छविलाल जोशीको हकमा भने जिल्लाको आदेश सदर गरेको बताए ।
छविलाललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
रवि र पूर्वडीआईजी जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बहस भएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ ।
बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, नारायण कँडेल, पशुपति भण्डारीले बहस गरेका थिए । त्यस्तै छविलालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अपूर्व खतिवडा, मनोज चौधरी र सरकारी वकिलबाट सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, प्रकाश मरासिनी, वसन्त पोखरेलले बहस गरेका थिए ।
यसअघि रूपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको थियो भने छविलाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआइजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।