हिमाल विजेता किरण पि.सी. लाई कुश्मामा पञ्चेबाजा सहित सम्मान

हिमाल विजेता किरण पि.सी. लाई कुश्मामा पञ्चेबाजा सहित सम्मान

  • Kanchan News

  • मङ्लबार, कार्तिक १९, २०८२

  • 219
    SHARES
हिमाल विजेता किरण पि.सी. लाई कुश्मामा पञ्चेबाजा सहित सम्मान

कुश्मा, पर्वत। विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफलतापूर्वक आरोहण गरेका कुश्मा नगरपालिका–९ निबासी वीर सपूत किरण पि.सी. लाई भव्य सम्मान गरिएको छ । भारतीय सेनाको तर्फबाट आयोजित हिमालयन एक्सपेडिसनको रजत जयन्तीको पावन अवसरमा पि.सी. ले २०८२ जेठ १३ गते हिमाल आरोहणको कीर्तिमानी सफलता प्राप्त गर्नुभएको थियो।

राष्ट्रकै गौरव बढाएका भन्दै स्थानियले उहाँलाई मंगलबार एक भव्य समारोहका बीच स्वागत तथा सम्मान गरेका हुन ।

भारतीय सेनामा कार्यरत किरण पि.सी. आरोहणपछि तत्काल समय नमिल्दा गृहनगर कुश्मा फर्कन सम्भव भएको थिएन। सफल आरोहण गरेको करिब पाँच महिनापछि उहाँलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो।लामो अन्तराल पछि पनि उहाँप्रति स्थानीयवासीको प्रेम, सम्मान र उत्साहमा भने कुनै कमी आएको थिएन।किरण पि.सी. कुश्मा-९ मा आइपुग्दा समस्त वडावासीले स्वागत कार्यक्रमलाई विशेष बनाउन स्थानीय पन्जेबाजा समूह र भजन समूह परिचालन गरेका थिए ।

परम्परागत पन्जेबाजाको मीठो र उत्साहपूर्ण धुनले सम्पूर्ण वातावरणलाई खुसियालीमा परिणत गरेको थियो भने भजन समूहले देश र माटोको जयगान गाउँदै तथा आरोहीको सफलताको कामना गर्दै स्वागत समारोहलाई धार्मिक र सांस्कृतिक रङ दिएका थिए।

त्यस्तै उहाँले अध्ययन गर्नुभएको श्री सार्वजनिक माध्यमिक विद्यालय का व्यवस्थापन समिति, शिक्षक-शिक्षिका र विद्यार्थीहरूले उहाँलाई विशेष सम्मान अर्पण गरे। त्यस्तै, उहाँको गाउँको आमा समूह लगायत अन्य सामाजिक संघ-संस्थाहरूले पनि उहाँको निधारमा टीका र गलामा माला पहिराएर स्वागत गरे। विद्यालय परिवारले पि.सी. को सफलतालाई सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणाको स्रोतको रूपमा प्रस्तुत गरेको छ।

स्वागत समारोहमा बोल्ने वक्ताहरूले किरण पि.सी. को यो साहसिक कदमले युवा पुस्तालाई ठूला लक्ष्यहरू निर्धारण गर्न र त्यसलाई प्राप्त गर्नका लागि कडा परिश्रम गर्न प्रेरित गर्नेमा जोड दिए। वडा अध्यक्ष तथा अन्य स्थानीय प्रतिनिधिहरूले उहाँको यो उपलब्धि केवल उहाँको व्यक्तिगत नभई समग्र कुश्मा नगरपालिका र पर्वत जिल्लाकै गौरवको विषय भएको बताए।

“किरण पि.सी. ले भारतीय सेनामा रहेर हाम्रो राष्ट्रको गौरव बढाउनुभएको छ। उहाँको समर्पण र त्यागले गर्दा नै हामी आज उहाँलाई यसरी सम्मान गर्न पाएका छौँ। यो भव्य स्वागतले उहाँको पेशागत जीवनमा थप सफलता मिलोस् भन्ने कामना गर्दछौँ।” स्थानियले भने ।

समारोहको अन्त्यमा, किरण पि.सी. ले सम्पूर्ण वडावासी, विद्यालय परिवार र आमा समूहलाई यति भव्य र भावनात्मक स्वागत गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आफ्नो सफलतामा सबैको माया र सद्भावको ठूलो भूमिका रहेको बताउनुभयो।

भारतीय सेनाको साहसिक ‘हिमालयन एक्सपेडिसन’ को रजत जयन्ती (२५ औँ वर्षगाँठ) को अवसरमा गरिएको यो आरोहण निकै चुनौतीपूर्ण र गौरवपूर्ण थियो। पि.सी. ले यो अभियानमा सहभागी भई सफलतापूर्वक हिमालको चुचुरोमा पुगेर आफ्नो राष्ट्रको सान र वीरतालाई थप उचाइ दिनुभएको छ । उहाँको यो कीर्तिमानी सफलताले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली युवाहरूको साहस र क्षमताको प्रदर्शन भएको छ। उहाँले गरेको अथक मेहनत, दृढ सङ्कल्प र अदम्य साहसको फलस्वरूप नै यो उपलब्धि हासिल भएको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News