चुपचाप उभिएको एउटा सामान्य घर—वरिपरि पहाड र खेतवारी भए पनि भित्रै कतै अपुरो कमी लुकिएको छ। त्यही घरमा बस्दै आएकी नन्दकला थापा, उमेरले वृद्ध भइसकेकी छिन्। उनको उमेर ७० नजिक पुग्न लाग्यो । पर्वतको पैँयू गाउँपालिका वडा नं. ३ वेउलीवासस्थित आफ्नै जमिनमा बनेको यो सानो घर पहिले छाप्रो जस्तै थियो। २०७२ सालको विनाशकारी भूकम्पले त्यो घर भत्काएपछि पुनर्निर्माण त भयो, तर केवल कामचलाउ स्वरूपमै।
नन्दकलाको दैनिकी कहिल्यै सजिलो छैन। एक्लोपन, स्थायी आम्दानीको आधार नहुनु, र रोगले थिच्ने शरीर—यी सबै उनका जीवनका कठोर यथार्थ हुन्। “घर त छ बाबु, तर शौचालय छैन, तेसैले दिनहुँ अप्ठ्यारो हुन्छ,” उहाँले तथ्याङ्क संकलनका लागि घर पुगेका गणकहरूलाई भन्नुभयो। उहाँ सँग आपद् पर्दा कसैलाइ फोन गर्ने एउटा माेबाइल समेत छैन ।
यूएनडिपी र ईन्प्रेड नेपालको साझेदारीमा पैँयू गाउँपालिकामा सञ्चालित सामाजिक–आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली(sevims) अन्तर्गत गणकहरू घरदैलो तथ्याङ्क संकलन गर्न पुगेका थिए। जब उनीहरूले नन्दकलासँग संवाद गरे, उहाँको स्वर पीडाले भरिएको भए पनि आशाको झिल्को मिसिएको थियो।
“मसँग त नियमित आम्दानी छैन, खेतीपाती गर्न प्रशस्त जमिन पनि छैन। दुईवटा बाख्रा छन्, त्यही नै मेरो आधार हो। तर शौचालय नभएकै कारण दिनदिनै दुःख पाउँछु। कच्ची शौचालयमा जाने अप्ठ्यारो म कसरी भनुँ?,” उहाँले आँसु झार्दै भन्नुभयो।
गणकहरूले उहाँलाई उच्च जोखिममा परेका एकल महिलाहरूको सूचीमा राख्न खोजे। नन्दकलाले फेरि जोड दिँदै भनिन्: “मेरो लागि यो परियोजनाले शौचालय बनाएर दिए हुन्छ बाबु। अनि पशुपालन गर्ने चाहना छ अलिकती आर्थिक सहयोग वा बाख्रा किन्दिए त्यसैको व्यापार बनाएर बाँच्थेँ। अरू केही चाहिँदैन।” नन्दकला थापाको कथा केवल व्यक्तिगत पीडा मात्र होइन—यो ग्रामीण वृद्ध महिलाहरूको साझा यथार्थ हो। भूकम्पले घर भत्काएपछि नयाँ घर त बने, तर आधारभूत आवश्यकतामै वञ्चित उनीहरूको अवस्था दयनीय छ। शौचालयजस्तो सामान्य सुविधा अझै सपना बनेको छ। पशुपालन गरेर आत्मनिर्भर बन्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभावले उनीहरूलाई विवश बनाइरहेको छ।