
आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित घरमा रहेको गाडीको शोरूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।
आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको घर र गाडीको शोरूममै आगो लगाइदिएका थिए ।
मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपीपल रिसोर्ट समेत तोडफोड र आगजनी गरेका थिए ।
पोखराको लेकसाइडमा प्रदर्शनकारीले जलाएको भवनबाट अर्को युवतीको पनि जलेको अवस्थामा शव भेटिएको छ।
लेकसाइडमा रहेको अंशुभरा ग्रुपको भवनबाट जलेको अवस्थामा युवतीको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। जलेर हड्डी मात्र रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
लेकसाइडमा भेटिएको शव पनि अंशुभरा ग्रुपमा कार्यरत युवतीको हुन सक्ने प्रहरीको आशंका छ।
गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।
प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।
ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ