अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका थिए । यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थी सहित करिब एक हजार २०० व्यक्तिको ज्यान गएको थियो । इजरायल र हमासबीच सन् २००८ यता यो पाँचौं भिषण युद्ध हो ।
सन् १९४८ मा इजरायल स्थापना भएयता इजरायलमाथि यति ठूलो हमला कहिल्यै भएको थिएन । हमासका लडाकूले किब्बुजका घरघरमा प्रवेश गरेर बुढाबुढी, केटाकेटी, युवा जोकोहीलाई निर्ममतापूर्वक हत्या गरेका थिए भने घरबस्तीलाई खण्डहरमा परिणत गरिदिएका थिए । यतिमात्र होइन, उनीहरुले २५१ जना बालबालिका, वृद्ध र युवालाई अपहरण गरेर गाजा लगेका थिए । गाजामा नाकाबन्दी गरेको, अल–अक्सा मस्जिदमा कारबाही गरेको, गाजा र पश्चिम किनारामा जबर्जस्ती बस्ती बिस्तार गरेको बदलामा इजरायलमाथि आक्रमण गर्नुपरेको हमासले बताउँदै आएको छ ।
यो घटनाबाट आहत भएको इजरायलले हमास विरुद्ध अक्टोबर २७ देखि भिषण स्थल सैन्य र हवाई कारबाही थालेको थियो । हमासलाई समुल नष्ट गर्ने र बन्धकहरुलाई मुक्त गर्ने अभियानमा लागेको इजरायललाई संयुक्तराज्य अमेरिका सहित पश्चिमा देशहरुले आर्थिक, सैनिक, राजनैतिक समेत सबै किसिमका सहायता र आडभरोसा दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको सरकारले हमास बिरुद्ध थालेको सैन्य कारबाहीले हमासले गरेको आक्रमणलाई पनि बिर्साइदिएको छ ।
अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटका अनुसार, इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यद्यपि यो संख्याका बारेमा फरक फरक विवरणहरु आइरहेका छन् । हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । र, मारिएका मध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् ।
एक लाख बढी प्यालेस्टिनी अङ्गभङ्ग भएका छन् । मानवीय सङ्कटको चरम स्थितिमा पुगेपनि इजरायली आक्रमण निरन्तर जारी रहेको थियो । गाजाका करिब २३ लाख सर्वसाधारण आफ्ना घर छाडेर टेन्टमा कष्टकर जीवन जिउन बाध्य छन् । उनीहरुका ९० प्रतिशत घर इजरायली बमबारीबाट क्षतिग्रस्त भएको सञ्चार माध्यमहरुले बताएका छन् । युद्धको यस विभिषिकाबाट बच्ने कुनै आशा छाडेका उनीहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष अनेक हारगुहार गरिरहे । गाजाका अधिकांश घरहरु भग्नावशेषमा परिणत भएका छन्, सडकहरु ट्याँक र बमबारीबाट क्षतिबिक्षत छन्, विद्यालय र अस्पताल कुनै बाँकी छैनन् । एक किसिमले गाजामा जातीय सफाया गर्न चाहेको आरोप इजरायलले खेपेको छ, र अन्तर्राष्ट्रिय न्यायालयले इजरायली प्रधानमन्त्री र हमास नेतृत्वमाथि युद्ध अपराधको मुद्दा चलाएको छ ।
इजरायलले हमासका नेताहरुलाई पनि गाजा र अन्यत्र छानीछानी हत्या गरिदिएको छ । यसक्रममा २०२४ अक्टोबर १६ मा हमासका नेता याया सिनवार इजरायली स्थल सेनाको कारबाहीमा मारिएका थिए भने अर्का बरिष्ट नेता इस्माइल हनिएको इरान भ्रमणका क्रममा हत्या भएको थियो ।