पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले बाँझोपनको समस्या रहेका गाईभैँसीहरूको उपचार सुरु गरेको छ।
कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाका गाईँभैँसीहरूको उपचार सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका कार्यालय प्रमुख ऋषभ गुरागाईँले बताए। उनका अनुसार जिल्ला र स्थानीय तहमा उपलब्ध रहेका प्राविधिकहरूले गाई भैँसीको बाँझोपनको समस्या हटाउन केही समय पहिलेबाट नै उपचार सुरु गरेका थिए। तर कतिपय गाई भैँसीमा समस्या जटिल देखिएपछि जिल्लामा उपलब्ध प्राविधिकहरूबाट उपचार हुन नसक्ने भएपछि कृषि बन विश्वविद्यालय चितवन विज्ञ सत्रुधन शाहलाई बोलाइएको थियो।
गत कार्तिक २९ र ३० गते विज्ञ सहितको टोलीले तीन वटा स्थानीय तहका २८ घरका ६२ वटा पशुहरूको उपचार सुरु गरिएको हो। जसमा १८ वटा भैँसी र ४४ वटा गाईको उपचार गरिएको छ। सम्बन्धित स्थानीय तहमा समन्वय गर्दै त्यहाँका प्राविधिकहरूसहित घरदैलो कार्यक्रम गरेर प्रत्येक कृषकको गोठमा नै पुगेर पहिलो चरणको उपचार सुरु गरिएको कार्यालय प्रमुख गुरागाईँले बताए।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गर्दै आएको बाँझोपनको उपचार र हाल बोलाइएको विज्ञसहितको टोलीले गरेको उपचारका क्रममा पर्वतका पशुमा बाँझोपनको समस्या देखिनुको पहिलो कारण पोषणको अभाव रहेको पाइएको छ। दोस्रोमा कृषकहरूमा प्राविधिक ज्ञानको अभाव, तेस्रोमा हर्मोनको गडबडी र चौथोमा नाम्ले माटे जस्ता आन्तरिक परजीवीको कारण देखिएका छन्।
‘गाई भैँसीमा आउने बाँझोपनको कारण ठाउँ अनुसार फरक हुन्छ। कृषकहरूमा सामान्य प्राविधिक ज्ञान नहुँदा पनि समस्या भएको देखिएको छ। उहाँहरूले पशुले भाले खोजेको समयको पहिचान गर्न नै नसकेको पाइएको छ’, गुरागाईँले भने, ‘प्राविधिकलाई अनावश्यक रूपमा अत्त्याउँदा पनि समस्या देखिएको छ। भाले खोजेको १२ घण्टा पछाडि मात्रै भाले लगाउनुपर्छ भन्ने ज्ञान प्राविधिकहरूलाई मात्रै छ। कृषकहरूलाई यो बारेमा ज्ञान नहुँदा भाले खोज्दा बित्तिकै आइहाल्नप¥यो भनेर अत्त्याउनुहुन्छ, जसले गर्दा बाँझोपनको समस्या देखिन्छ।’
बाँझोपनको समस्या देखिएका पशुमा यो अभियानमा सिधै कृत्रिम गर्भाधान नगरी पहिले उनीहरूको समस्या पहिचान गरेर उपचार सुरु गरिएको छ। चितवनबाट बोलाइएका विज्ञले अभियानका क्रममा प्रत्येक पशुको समस्याको वर्णन उपचार विधि सहितको प्रक्रिया लेखेर जिल्लाका र स्थानीय तहका प्राविधिकहरूलाई दिएका छन्। अब यहाँका प्राविधिकहरूले सोही अनुसारको उपचार गरेर पशुलाई गर्भाधानका लागि योग्य बनाएपछि मात्रै कृत्रिम गर्भाधान गरिने छ।
स्थानीय तहको समन्वयमा पशु सेवा विज्ञ केन्द्र पर्वतले सञ्चालन गरेको शिविरले कृषकहरूको लागि धेरै राहत हुने जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए। अहिले गाई भैँसीको मूल्य चर्को रहेको र महँगो मूल्य तिरेर खरिद गरिएका गाई भैँसीमा बाँझोपनको समस्या आउँदा कृषकहरू ठुलो आर्थिक भारमा पर्ने उनको भनाई छ। यो अवस्थामा विज्ञ केन्द्रले विशेषज्ञ सहितको प्राविधिक टोली लिएर कृषकका गोठमा नै पुगेर सुरु गरेको उपचारले कृषकलाई खुसी मिलेको आचार्य बताउँछन्।
थाहा खबर बाट