साभ नेपालको अभिभावक शिक्षा कार्यक्रम

साभ नेपालको अभिभावक शिक्षा कार्यक्रम

  • Kanchan News

  • शनिबार, बैशाख ८, २०८१

  • 620
    SHARES
साभ नेपालको अभिभावक शिक्षा कार्यक्रम
   शिक्षा राष्ट्र निर्माणको मूल आधार हो । शिक्षालाई समृद्ध नगर निर्माण गर्ने मेरुदण्डका रुपमा लिइन्छ । सचेत नागरिक, सभ्य समाज विकसित नगर बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । नगरभित्र रहेका सबै बालबालिकालाई समानताको आधारमा शिक्षाको अवसर दिइनुपर्छ । बालबालिकामा रहेका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन शिक्षा अनिवार्य हुन्छ । अभिभावकहरुमा आफ्ना बालबालिकाहरुलाई घरबाटै संस्कारसहितको शिक्षा प्रदान गर्न अभिभावकीय जिम्मेवारी बोध गराउने उद्देश्यले चितवनको खैरहनी नगरपालिका वडा नं ८ को आयोजना र साभ नेपालको सहजीकरणमा मिति २०८१/०१/०७ र ०८ गते गरी जम्मा दुई दिवसीय अभिभावक सचेतना कार्यक्रम कङ्काली बेङ्केट खैरहनीमा सम्पन्न भयो ।
कार्यक्रम खैरहनी नगरपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष श्याम पाठकको अध्यक्षतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा नगरप्रमुख शशी कुमार खनियाको प्रमुख आतिथ्य रहेको थियो भने शिक्षा शाखा प्रमुख राजु बानियाले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि नगरप्रमुखले बालबालिकामा देशको भविश्य रहेकाले सोही अनुसारका बालबालिकाको क्षमता विकास गर्नका निमित्त अभिभावक नै बढी जिम्मेवार रहने र संस्कारसहितको बालक विद्यालय प्रवेशसँगै उचित शैक्षिक वातावरणले मात्र असल नागरिक उत्पादन हुने हुँदा अभिभावकीय शिक्षा अति आवश्यक भएको कुरा बताउनुभयो । शिक्षा शाखा प्रमुख राजु बानियाले बालकले पहिलो शिक्षा घरबाटै प्राप्त गर्ने हुनाले अभिभावक शिक्षा अपरिहार्य रहेको कुरा बताउँदै उपस्थित सबैलाई स्वागत  गर्नुभयो । कार्यक्रम सञ्चालनका क्रममा शिक्षा अधिकृत रविन देवकोटाले अभिभावकीय शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमका मुख्य प्रशिक्षक साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनालले बालबालिका बाबुआमाका लागि सर्वश्व हुन् र तिनीहरुलाई असल संस्कार दिने पहिलो जिम्मेवारी अभिभावकहरुकै हो भन्ने विषयवस्तु प्रस्तुत गर्दै अभिभावकहरुलाई मनोरञ्जनात्मक शैलीमा जिम्मेवारी बोध गराउने प्रयत्न गनुभयो । अभिभावकलाई आफ्ना सन्तानप्रति जिम्मेवारी बोध गराउँदै प्रशिक्षक स्वस्तिका तिवारीले अभिभावकलाई सहजीकरण गनुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका अभिभावकहरुलाई प्रशिक्षण दिने काम भयो । यस दिन प्रमुख प्रशिक्षक डा.तुलसीराम खनालले अभिभावकलाई अभिभावकीय जिम्मेवारी बोध गराउँदै असल अभिभावक बन्न उत्प्रेरणा प्रदान गर्नुभयो । बालबालिकाको पहिलो पाठशाला घर हो भने बाबुआमा पहिलो गुरु हुन् । घरबाट जस्तो शिक्षा र संस्कार लिएर बालक हुर्कन्छ त्यसको प्रत्यक्ष प्रभाव दीर्घकालीन समयसम्म रहिरहन्छ । आजको परिवेशमा परिवर्तन र संभावनासँगै बालबालिकालाई उचित सिकाइ वातावरण घरबाटै सुरु गर्न जरुरी देखिन्छ । बदलिँदो परिवेशसँगै जव बालक घरबाट विद्यालय प्रवेश गर्दछ तव उसले नयाँ अनुभव बटुल्न थाल्दछ । अभिभावक बालक र शिक्षक त्रिपक्षीय सम्बन्धको वातावरणले उसको भविश्यको मार्ग निर्देशन गर्दछ । बालक संस्कार र संघर्षले आफ्नो भविश्य बनाउने हुनाले असल व्यवहार सिकाइमा सहयोग गर्न बाबाआमाबाट राम्रो वातावरण दिनुपर्छ । त्यसको लागि बढी जिम्मेवार अभिभावक हुनुपर्ने कुरामा जोड दिदै अभिभावकले ध्यान दिनुपर्ने कुराहरु बताउनुभयो । दोस्रो दिन वडावासी अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो ।  यसैगरी कार्यक्रममा सहजकर्ता टीका सापकोटा, सीतादेवी पौडेल र रमेशचन्द्र पुरीले अभिभावकहरुलाई सहजीकरण गर्नुभएको थियो ।
खैरहनी नगरपालिका वडा नं ८ मा सञ्चालन गरिएको अभिभावकीय सचेतना कार्यक्रम निकै प्रभावकारी रह्यो । कार्यक्रममा १०० जना सहभागी रहेका थिए । कार्यक्रम सञ्चालन  पश्चात साभ नेपालले सबै अभिभावकहरुले बालबालिकाहरुलाई घरबाटै संस्कारसहितको शिक्षामा सहयोग पु¥याउने कुराको अपेक्षा राखेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News