लमजुङको सुन्दरबजारस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा ६६ दिनदेखि पठनपाठन ठप्प भएको छ । विद्यार्थी संगठनहरुको आन्दोलनका कारण लमजुङ क्याम्पसमा ६६ दिन देखि सम्पूर्ण शैक्षिक गतिविधिहरु अवरुद्ध बनेको हो । गत पुस २७ गते लमजुङ क्याम्पसको पुरुष छात्रबासमा नेविसंघ र अनेरास्वव्युमा आवद्ध विद्यार्थीहरु बिच झडप हुदाँ अनेरास्वव्युका विद्यार्थीहरु घाईते भएका थिए । उक्त घटना पछि क्याम्पस प्रशासनले असुरक्षाको कारण देखाउदै क्याम्पसमा पठनपाठन बन्द गरेको थियो ।
घटनामा संलग्न विद्यार्थीहरुलाई कानुनी दायरामा ल्याई त्रि.वि नियामावली अनुसार दोषी उपर कारबाही गर्ने निर्णय क्याम्पस प्रशासनले गरेको थियो । आफुलाई कार्बाही गर्ने निर्णय चित्त नबुझेको भन्दै नेविसंघका विद्यार्थीहरुले चैत्र १६ गते देखि क्याम्पसमा तालाबन्दी गरेका छन् । ६६ दिनदेखि क्याम्पसमा सम्पूर्ण शैक्षिक गतिविधिहरु अवरुद्ध हुदाँ ५ सय विद्यार्थीहरु पठनपाठनबाट वञ्चित हुन पुगेका छन् ।
जिल्ला प्रशासन कार्यलयमा भएको सर्वदलिय बैठकमा क्याम्पस प्रशासनले विगतमा भएको निर्णयहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र विगतका दिनहरुमा क्याम्पसमा तालाबन्दी भएता पनि स्वयं क्याम्पस प्रशासनले यथाशिघ्र तालाबन्दी खोल्ने निर्णय भएको थियो । तर उक्त निर्णय हाल सम्म पनि कार्यान्वयन नहुदा विद्यार्थीहरुको पठनपाठनमा मात्र नभई मानसिकतामा समेत गम्भिर असर पुगेको लमजुङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष विरेन्द्र जि.सी.ले बताउनुभयो ।
तालाबन्दीका कारण साताँै सत्रान्तको अनुसन्धान कार्यक्रममा र मङ्सिरमा प्रवेश परिक्षामा उत्तीर्ण भई लमजुङ क्याम्पस भर्ना भएका प्रथम सत्रान्तको अभिमुखिकरण कक्षामा समेत गहिरो असर परेको छ । यसका साथै सातौँ सत्रान्तको नियमित परीक्षा, छैठौं सत्रान्तको पुरक परिक्षा, दोस्रो र पाचौं सत्रान्तको प्रयोगात्मक परीक्षा पनि तोकिएको समयतालिकामा हुन सकेको छैन ।
लामो समय सम्म क्याम्पसमा पठनपाठन सुचारु नहुदाँ पनि क्याम्पस प्रशासनले कुनै निर्णय लिन सकेको छैन् ।