
गण्डकी प्रदेशको राजधानी पोखरामा मेला र महोत्सवको अब सिजन सुरु भएको छ । पर्यटकीय नगरी पोखरामा उद्योग वाणिज्य संघ देखि विभिन्न क्लब, रेवान पोखरा सहितका विभिन्न संघ संस्थाले आयोजना गर्दै आएका मेला महोत्सवको सिजन सुरु भएको हो ।
हुन त महोत्सवको सुरुवात नै पोखराबाट भएको दाबी गरिएको छ । २०५२ मा पहिलो पटक पोखरामा महोत्सव भएको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सञ्जीव कोइरालाले बताउनु भयो । राज्यले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै यहाँ उत्पादित बस्तुको बजारीकरण र प्रदर्शनीमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा यसको जिम्मा उद्योग वाणिज्य सङ्घहरूले अपनत्व गर्दै आएको सन्दर्भमा अब राज्यले उनीहरुलाई उक्त मेला महोत्सव गर्न आर्थिक सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो ।
पोखरा क्षेत्रमा मङ्सिर २१ गते देखि लगातार जसो दुई महिना हुने मेला महोत्सवले पालिका क्षेत्रमा आर्थिक केही क्रियाकलाप चलायमान बनाउन सहयोग पुग्ने पूर्व अध्यक्ष कोइरालाले बताउनु भयो । लगानी सम्मेलन जसरी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको मेला वा महोत्सव आवश्यक भएको उहाँको भनाई छ । कृषि र पर्यटनबाट हाम्रो जस्तो मुलुकलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ हाल विश्व बजारमा के कस्ता प्रविधि र बस्तुहरू उत्पादन भएका छन् ती विषयको बारेमा पोखरामा छलफल र प्रदर्शनी हुन आवश्यक भएको कोइरालाले बताउनु भयो ।
प्रायः मङ्सिर महिनाको तेस्रो साता देखि पुष महिना भरी नै पोखरामा विभिन्न मेला र महोत्सव हुने महोत्सव आयोजक संस्थाहरूले जनाएका छन्। कोभिड पछि आर्थिक मन्दिरले हाल देशमा अर्थतन्त्र निकै शिथिल भएको अवस्थामा विभिन्न मेला र महोत्सव हुनुले केही हदसम्म भए पनि अर्थतन्त्रलाई चलायमान बनाउने आफूहरूको विश्वास लिएको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनु भयो । पोखरा क्षेत्रमा हुने मेला महोत्सवले यहाँको कृषि उत्पादनको बजारीकरण केही पर्यटन प्रबद्र्धन गर्नुका साथै आर्थिक क्रियाकलापलाई थोरै भए पनि चलायमान बनाउने भएको उहाँले जनाउनु भयो ।
मेला महोत्सवले व्यक्तिहरूमा खर्च गर्ने प्रवृत्ति बढाउने जसले अर्थतन्त्रमा केही हद भए पनि चलायमान बनाउने भएको अर्थ शास्त्री डा.लेखनाथ भट्टराईले बताउनु भयो । मेला र महोत्सव हुँदा स्थानीय उत्पादन हस्तकलाका सामानलाई प्रोत्साहन बढी गर्नु पर्नेमा उहाँको जोड छ । विदेशबाट आयातित गरिएका बस्तु मेला महोत्सवमा बिक्री भए पनि अधिकांश रकम विदेशिने अर्थशास्त्री भट्टराईको भनाई छ । ठुला उद्योगी व्यवसायीहरूले अनलाइनको माध्यमबाट पनि आफ्नो बजारीकरण गर्ने गरेको अवस्थामा साना र मझौला उद्योगहरूलाई यस्ता मेला महोत्सवले प्रबद्र्धन गर्नुपर्ने उहाँले बताउनु भयो ।
पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २१ देखि पुस १ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । ३ सय भन्दा बढी स्टल रहने महोत्सवको अन्तिम तयारीमा रहेको संघका अध्यक्ष पवन कुमार प्रजापतिले बताउनु भयो ।
यहाँ एकै मितिमा विभिन्न मेला र महोत्सवको रौनक हुने गर्दछ । पोखरामा आठौँ संस्करणको पर्वतीय महोत्सव यही मङ्सिर २२ गतेदेखि सञ्चालन २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा आउँदो पुष ५ देखि १६ गतेसम्म १९ औ संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । सुन्तला महोत्सवबाट सुरु भएको उक्त महोत्सव हरेक बर्ष जसो उत्कृष्ट रुपमा सफल हुँदै आएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले बताउनु भयो ।
त्यसै गरी पोखरामा विगत लामो समय देखि लाखौँ पर्यटक भित्राउँदै पोखरा सडक महोत्सवले अर्को रौनक थप्ने गरेको छ । यस वर्षको २५ औँ पोखरा सडक महोत्सव पुष १२ देखि १६ गतेसम्म हुने भएको महोत्सव संयोजक विश्वराज पौडेलले बताउनु भयो । उसो त पोखरामा एउटा क्लबले आयोजना गरेको महोत्सव नमुना महोत्सवकै रुपमा स्थापित भएको छ । पोखराको युनाइटेड क्लबको आयोजनामा यस बर्ष पुसको अन्तिम साता १२ औँ संस्करणको पोखरा महोत्सव हुने भएको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो ।