दशैं मनाउन सर्वसाधारण गाउँ फकिएपछि राजनीतिक दलका नेताहरु पनि गाउँ केन्द्रीत कार्यक्रममा व्यस्त बनेका छन् । राजधानी उपत्यकामा दशैं लगत्तै केन्द्रीय कार्यालयहरुमा दशैंको शुभकामना कार्यक्रम निश्चित गरेका दलहरुले स्थानीय स्तरमा धमाधम शुभकामना आदान–प्रदान कार्यक्रम राखिरहेका छन् ।
शुभकामना आदान–प्रदान कार्यक्रममा स्थानीय नेताहरुले आफ्ना केन्द्रीय नेताहरुलाई बोलाइरहेका छन् भने नेताहरु पनि निम्ता मान्न गइरहेका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका थिए । दशैं लगायत चाडहरुको अवसरमा विर्तामोडमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शुभकामना आदानप्रदान गरे ।
एमालेकै सचिव गोकर्ण बिष्ट सिन्धुपाल्चोक नगर कमिटीको शुभकामना कार्यक्रममा मेलम्ची पुगेका थिए । मेलम्ची नगर कमिटीले गरेको कार्यक्रमलाई सचिव बिष्टले सम्बोधन गरे । नेकपा माओवादी केन्द्रका सचिव एवम् गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले शुक्रबार पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए ।
एमालेकै उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि शुक्रबार गृह जिल्ला चितवनमा आयोजित कार्यक्रममा सहभागी भए । भरतपुरमा चितवन एमालेले गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई उपाध्यक्ष पाण्डेले सम्बोधन गरेका थिए । महासचिव शंकर पोखरेल दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा सहभागी बने ।
स्वास्थ्यमन्त्री रहेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत पनि पोखरा पुगेका थिए । मन्त्री बस्नेतले शुक्रबार दशैं विशेष कार्यक्रममा सहभागिता जनाए । पोखरामै भएको अर्को दशैं विशेष कार्यक्रममा गण्डकी प्रदेशका उर्जामन्त्री सरस्वति अर्याल तिवारी सहभागी भए ।
यी केही प्रतिनिधिमुलक कार्यक्रमको सहभागिताबारे जानकारी मात्रै हो । यस्ता कार्यक्रम लगभग सबैजसो जिल्लामा चलिरहेको छ । दशैं मनाउन जिल्ला पुगेका नेताहरुले गाउँ आएका सर्वसाधारण प्रभावित बनाउन शुभकामना आदानप्रदान कार्यक्रम राखिरहेका छन् ।