फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन

फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन

  • रासस

  • बिहिबार, असार २८, २०८०

  • 71
    SHARES
फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताउँछन् ।

बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याएको हो’, उनी भन्छन, ‘वैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ । साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु ।’

पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताउँछन् । ‘बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ’, उनी भन्छन्, ‘बेमौसममा उत्पादन भएको बन्दाले बजार र मूल्य राम्रो पाउँछ ।’

तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गरेका छन् । उको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनको भनाइ छ ।

पुन २०५७ सालदेखि २०६८ सालसम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ति सेनाका रुपमा सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रको वडा कमिटी अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब पाँच वर्ष रोल्पामै व्यापार, व्यवसाय गरेर बसेका थिए । ७ वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेका छन् ।

बाख्रापालनबाट फार्म सुरु गरेका पुन ३ वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित भएका छन् । फार्ममा हालसम्म रु ५० लाख लगानी भएको पुनले बताउँछन् ।
‘कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश जान छाडेर यही खेती गरेर बसेको हुँ’, उनी भन्छन्, ‘आम्दानीबाट सन्तुष्ट छु । फार्मको पूर्वाधारमा लगानी विस्तार गरेको छु ।’ दुई जना छोराछोरीलाई बेनीमा निजी विद्यालयमा पढाएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News