डेढ अर्ब हिनामिना आरोपपछि ढोरपाटन नगरपालिकाका मेयर बेपत्ता

डेढ अर्ब हिनामिना आरोपपछि ढोरपाटन नगरपालिकाका मेयर बेपत्ता

  • Kanchan News

  • शनिबार, जेष्ठ १३, २०८०

  • 76
    SHARES
डेढ अर्ब हिनामिना आरोपपछि ढोरपाटन नगरपालिकाका मेयर बेपत्ता

१ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली दुई सातायता सम्पर्कविहीन छन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना गरेर भागेको आरोप लागेको हो ।

वैशाख ६ मा सञ्चालक समितिको बैठकले आर्थिक तरलता अभाव देखाएर सहकारी बन्द गरेको थियो । त्यसपछि नदेखिएका नेपाली दुई सातादेखि बेपत्ता भएका हुन् । खामबन्दी पत्रमा उनले उपप्रमुख धनबहादुर कायतलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको खुलेको छ ।

बागलुङ र पोखरामा शाखा रहेको सहकारी संस्था बन्द भएपछि सयौं बचतकर्ताले प्रशासनमा उजुरी गरेका थिए । प्रशासनकै आग्रहमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रारम्भिक अनुसन्धानसमेत गरिसकेको छ । अनुसन्धानका क्रममा सयौं बचतकर्ताबाट १ अर्ब ५४ करोड रुपैयाँ अपचलन गरेको देखिएको कार्यालयका सूचना अधिकारी चोलाकान्त वाग्लेले बताए ।

‘डेढ अर्ब बढी रकम हिनामिना भएको प्रारम्भिक अनुमान आएपछि हामीले सञ्चालकको नाउँमा रहेको सम्पत्ति रोक्का गराएका छौं,’ वाग्लेले भने । संगठित ठगी भएको भन्दै कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत छानबिन गर्ने गरी माथिल्लो तहमा जानकारी भइसकेको उनले बताए । १८ प्रतिशत ब्याज दिने आश्वासनमा सहकारीमा सयौंले बचत गरेका थिए । गत माघमा सहकारीले सदस्यहरूलाई आर्थिक प्रतिवेदनसमेत नबाँडी साधारणसभा सम्पन्न गराएको थियो ।

सञ्चालक सदस्य र नेपालीका परिवारका सदस्यसमेत फरार भएपछि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयको आग्रहमा अध्यागमन विभागले उनीहरूको भ्रमण आदेशसमेत रद्द गराएको थियो । संस्थापक अध्यक्षका रूपमा नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रूपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द भएको हो ।

सञ्चालकहरू भागेर विदेश जान सक्ने भएकाले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो । अध्यागमन विभागले यात्रा अनुमतिपत्र जारी गरे पनि अहिलेसम्म प्रहरीले उनीहरूको कुनै सुइँको नपाएको सहायक प्रजिअ चित्रांगत बरालले बताए ।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य नेपाली नगर प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अहिले पार्टीले उनलाई निलम्बन गरिसकेको छ । २०७४ को स्थानीय निर्वाचन मनोनयन गर्ने दिनसम्म उनी माओवादीमा आबद्ध थिए । टिकट नपाएपछि एमाले प्रवेश गरेका हुन् । मतदातालाई समेत लाखौं रकम बाँडेर निर्वाचन प्रभावित बनाएको उनीमाथि आरोप लागेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News