११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसीप पोखरामा सुरु

११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसीप पोखरामा सुरु

  • Kanchan News

  • मङ्लबार, बैशाख २६, २०८०

  • 154
    SHARES
११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसीप पोखरामा सुरु

११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसीप २०८० पोखरा सोमबारदेखि सुरु भएको छ । नेपाल आर्चरी संघको आयोजनामा पोखरा रंगशालास्थित आर्चरी खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोग तथा नेपाल ओलम्पिक कमिटीको सहप्रायोजनमा रहेकधो छ । प्रतियोगिताको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उद्घाटन गरे ।

उनले खेलकुदको क्षेत्रमा मात्रै नभइ हरेक क्षेत्रमा यो समस्या रहेको बताए । ‘खेलकुदका पूर्वाधार नभएका होइनन् । तर, हामीकहाँ भनेजस्तो गरी खेलकुद विकासको योजना बनेका छैनन् । यसबारे गम्भीर समीक्षा र खेलकुद विकासका लागि योजना निर्माण आवश्यक छ,’ उनले भने,‘ म पनि खेलकुदमा २६ वर्ष विताएको मान्छे । खेलकुदमा समस्या छन् ।’

आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले आर्चरी ओलम्पिकमा मेडलको सम्भावना बोकेको खेल भए पनि राज्यको तर्फबाट उचित ध्यान नपुगेको गुनासो पोखे । राज्यबाटै ओलम्पिकमा सम्भावना बोकेका खेलको सूचीमा राखिए पनि सूचीमा मात्रै सिमित हुन परेको उनको भनाइ रहेको छ ।

संघका महासचिव रमेशप्रसाद सिवाकोटीले राज्यले नै आर्चरी खेलको विकासका लागि विनियोजन गरेको रकम समेत समयमा उपलब्ध नगराउँदा खेलको मिति सार्न बाध्य भएको सुनाए । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले वर्तमान अवस्थामा आर्चरी खेलको विकास हेर्दा आफूलाई निकै खुसीको अनुभूति भएको बताए । बैशाख २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस, नेपाल आर्मी,सशस्त्र प्रहरी, कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका कुल ६२ खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा २२ महिला र ४० पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्टमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए । प्रतियोगितामा रिकर्भ, कम्पाउन्ड र स्टाण्डर्ड विधा रहेका छन् । हरेक विधामा महिला, पुरुष र टिम इभेन्ट हुनेछन् । प्रतियोगितामा स्वर्ण ९, रजत ९ र कास्य ९ गरी कुल २७ पदकका लागि प्रतिस्पर्धा चलिरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News