पोखरा
माओवादी केन्द्र संसदिय दलको बैठकले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि शुक्रबार बसेको संसदिय दलको बैठकले गण्डकी प्रदेश सरकार बाट बाहिरिने निर्णय गरेको हो ।
प्रदेश सरकार बाट आफुहरु बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको माओवादी संसदिय दलका नेता तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्री छन् । उनीहरुले आजै मुख्यमन्त्री समक्ष राजीनामा दिने तयारी गरेका छन् । गत पुस २५ गते नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारमा माओवादी सामेल भएको थियो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । गण्डकीमा कांग्रेसको २७, एमालेको २२ माओवादीको ८ र राप्रपाको २ सिट रहेको छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका दिपक मनाङे भनिने राजीव गुरुङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे सँगैे गण्डकीमा नेकपा एकीकृत समाजवादीको पनि प्रतिनिधित्व छ ।