क्रिप्टो र नेटवर्किङले बढायो जोखिम

क्रिप्टो र नेटवर्किङले बढायो जोखिम

  • Kanchan News

  • शनिबार, भदौ ४, २०७९

  • 90
    SHARES
क्रिप्टो र नेटवर्किङले बढायो जोखिम

क्रिप्टोकरेन्सी र नेटवर्किङ बिजनेसले अर्थतन्त्रमा जोखिम बढाएको छ। छिटो धनी भन्ने उद्देश्यले धेरै नेपालीले त्यस्ता गैरकानुनी क्षेत्रमा लगानी गर्ने गरेको पछिल्ला घटनाले पुष्टि गरेका छन्। पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा तरलता अभाव हुनुमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ पनि मुख्य कारण हुन सक्ने विज्ञको भनाइ छ।

रेमिट्यान्सबाट आउने अधिकांश रकम पनि त्यतैतर्फ गएको अधिवक्ता ज्योति दाहाल बताउँछन्। हाइपर फन्डजस्ता नेटवर्किङ बिजनेस गाउँगाउँसम्म पुगेको उनले बताए। ‘यस्ता घटनाहरू लिएर हामीकहाँ आउने पीडित बढेका छन्,’ दाहालले भने। नेटवर्किङका एजेन्टले कमाइ हुने सपना देखाएर सर्वसाधारणबाट लाखौं पैसा असुल्ने गरेको पाइएको छ। पिरामिड शैलीमा गरिने यस्ता व्यवसायबाट सर्वसाधारणको सर्वस्वै गुमेको समेत उजुरी प्रहरीमा परेको छ। रोल्पाकी जानकी खत्रीले ३ लाख रुपैयाँ हाइपर फन्डमा लगानी गरेकी थिइन्। दुई वर्षसम्म एक पैसा पनि फिर्ता नपाएको उनको भनाइ छ।

अधिवक्ता दाहालका अनुसार जति ब्यालेन्स देखिए पनि झिक्न नमिल्ने, क्यासमा रूपान्तरण गर्न नमिल्ने, डलर साट्न नपाइने भएपछि कुनै अर्थ हुँदैन। ‘नेटवर्किङको चेन गाउँगाउँसम्म पुगेको छ, यसैका माध्यमबाट क्रिप्टोकरेन्सीमा पनि लगानी भएको देखिन्छ’ दाहाल भन्छन्, ‘कसरी छिटो पैसा कमाउने भनेर त्यसरी अन्धाधुन्ध लगानी गर्दा छिटो नागरिक पीडित बन्ने क्रम बढ्दो छ।’ हरेकले मोबाइलबाट कारोबार गर्ने भएकाले क्रिप्टोकरेन्सी र नेटवर्किङलाई रोक्न सहज नभएको प्रहरीको भनाइ छ। तर, कतिपयले साहु महाजन, लघुवित्तबाट चर्को ब्याजमा ऋण लिएर हाइपर फन्डजस्ता नेटवर्किङ र क्रिप्टोकरेन्सीमा लगानी गरेका छन्।

पछिल्लो समयमा क्रिप्टोको मूल्य घट्दै गएको छ। कुनै समयमा ७० हजारसम्म पुगेको बिटक्वानको मूल्य अहिले २४ हजार डलरमा झरेको एक प्रयोगकर्ताले सुनाए। त्यस्तै इथेरियमको मूल्य पनि १८ हजार पुगेको छ।  क्रिप्टोकरेन्सी र नेटवर्किङको खराबीबारे प्रचार गर्न आवश्यक रहेको बैंकर अनलराज भट्टराईको भनाइ छ। ‘निर्देशन, आदेशबाट मात्र सम्भव छैन्,’ भट्टराई भन्छन्, ‘जोखिमबारे प्रचार गर्न सके मात्रै पनि कारोबारमा नियन्त्रण हुन सक्छ।’

  • तरलता अभाव हुनुमा क्रिप्टो तथा नेटवर्किङ मुख्य कारण हुन सक्ने
  • रेमिट्यान्सबाट आउने अधिकांश रकम पनि क्रिप्टोमै

हुन्डीमार्फत डलर भित्र्याएर क्रिप्टोकरेन्सी र नेटवर्किङमा  लगानी गरेको हुन नक्ने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए। ‘क्रिप्टो किन्दा पनि डलर चाहिने भएकाले हुन्डीबाट गएको हुन सक्ने भए पनि अनुसन्धानबिना भन्न सकिँदैन,’ उनले भने, ‘सचेतना र कानुनी कारबाहीबाट नै क्रिप्टोकरेन्सी र नेटवर्किङको कारोबार रोक्न सकिन्छ’ पोखरेल भन्छन्।

यसैबीच, नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङमा कारोबार नगर्न चेतावनी दिएको छ। नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टो, बिटक्युन कारोबार तथा नेटवर्किङमा कारोबार नगर्न राष्ट्र बैंकले सूचना जारी गरेको हो। नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनीलाई कुनै पनि प्रकारका भर्चुअल करेन्सी र नेटवर्किङमा कारोबार नगर्न चेतावनी दिइएको छ।

कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङसम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ।  अन्नपूर्णपोष्ट बाट


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News