पोखरा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । उक्त विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । पोखरा विमानस्थल गत चैत १२ गते चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो । चिनियाँ कम्पनीले सम्झौता अनुसार सबै काम सम्पन्न गरेर हस्तानतरण गरे पनि नेपाल सरकारको जिम्मामा रहेका सञ्चालनपूर्व गर्नुपर्ने काम भने अझै बाँकी रहेको छ ।
सन् २०२१ जुलाई १० सम्ममा काम सम्पन्न गर्ने गरि विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बरदेखि सुरू गरिएको थियो । कोरोना माहामारीका कारण निर्माणको काम केही समय पछाडी धकेलिएको हो ।
विमानस्थल सञ्चालनका लागि अझै पनि ल्याण्डफिलसाइट स्थानान्तरण, दक्षितर्फको रिठेपानी डाँडा कटान र बर्खायाममा भलबाढी नियन्त्रणका लागि सिँचाइ नहर व्यवस्थापनको काम बाँकी छन् । रिट्ठेपानी डाँडा कम्तीमा ४० मिटर काट्नुपर्ने प्राविधिक अध्ययनले निष्कर्ष निकालेको छ ।
यो विमानस्थल सञ्चालनमा आए सँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्ने छ ।