पर्वतको ग्रामीण भेगमा चल्ने सवारीले मनपरी भाडा असुल्दै

पर्वतको ग्रामीण भेगमा चल्ने सवारीले मनपरी भाडा असुल्दै

  • Kanchan News

  • शनिबार, साउन ७, २०७९

  • 47
    SHARES
पर्वतको ग्रामीण भेगमा चल्ने सवारीले मनपरी भाडा असुल्दै

जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनहरूले मापदण्डबिना मनोमानी तरिकाले भाडा लिएको गुनासो बढेपछि सरोकारवालाहरूको बैठकले भाडाको मापदण्ड तय गरेको छ।

सदरमुकाम कुश्माबाट पोखरा, काठमाडौँ, बागलुङ लगायतका ठाउँमा आउजाउ गर्ने सवारीहरूको भाडामा एकरुपता रहेको भए पनि सदरमुकामबाट विभिन्न स्थानीय तहमा चल्ने, एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा चल्ने, एउटै स्थानीय तहमा सञ्चालन हुँदै आएका सवारीहरूको भाडा वैज्ञानिक नभएको भन्दै आम नागरिकबाट आवाज उठेको थियो।

भाडा समायोजनको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्नुपर्ने भन्दै सेवाग्राहीले प्रशासन कार्यालयमा पनि दबाब दिएका थिए। भाडालाई वैज्ञानिक गराउन र एकै स्थानमा चल्नेहरूको पनि फरक फरक दर रहेको अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायहरूको बैठकबाट नयाँ भाडा दर कायम गरिएको हो।

नयाँ कायम भएको भाडा दर अनुसार जिल्लाको कच्ची सडकमा यात्रा गर्ने यात्रुले जिपमा सवार गर्दा प्रति किलोमिटर ११ रुपैयाँ र बसमा सवार गर्नेले प्रति किलोमिटर १० रुपैयाँ तोकिएको छ।

त्यस्तै, कालोपत्रे, ग्राभेल र पक्की सडकमा यात्रा गर्ने यात्रुले जिपमा प्रति किलोमिटर नौ रुपैयाँ ५० पैसा र बसमा प्रति किलोमिटर नौ रुपैयाँ तोकिएको छ।

अहिलेसम्म जिल्लका ग्रामीण क्षेत्रमा चल्ने जिपले प्रतिव्यक्ति प्रति किलोमिटर २७ रुपैयाँ सम्म भाडा लिँदै आएका थिए। जिल्ला ट्राफिक कार्यालय पर्वतले प्रत्येक सडकमा चल्ने सवारी साधनले लिँदै आएको भाडा दर, सडकको दुरी र सडकको अवस्थाको मूल्याङ्कन गरी बैठकमा पेस गरेको थियो। सोही बैठकले नयाँ भाडा दरलाई सर्वसाधारण यात्रुले देख्ने गरी पारदर्शी तरिकाले यातायातका साधनमा टाँस गर्नका लागि यातायात व्यवसायीलाई अनुरोध समेत गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले ग्रामीण क्षेत्रका लागि तोकिएको नयाँ भाडा दर भन्दा बढी भाडा लिएमा भाडा लिएको सवारीको नम्बर सहित ट्राफिकमा जानकारी दिन अनुरोध गरेका छन्।

ग्रामीण क्षेत्रमा चल्ने सवारीहरूले माग गरे अनुसारको भाडा नदिए यात्रुलाई बीचमै छोडेर हिँड्ने वा आफ्नो सवारीमा नचढाउने गरेको समेत पाइएकाले त्यस्तो गर्ने सवारीको बारेमा जानकारी दिएमा प्रहरीले कारबाही गर्ने बताए।

बैठकबाट जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा सञ्चालनमा रहेका अटो रिक्साहरूको लागि पनि भाडा दर कायम गरेको छ। कुश्मा र फलेवासमा अटो रिक्सा सञ्चालकहरूले आफ्नै तरिकाले भाडा लिँदै आएका थिए। तर अब कुश्मा बजारको जुन कुनै स्थानमा जाँदा पनि ५० रुपैयाँ तिरे हुनेछ भने फलेवास नगरपालिकामा प्रति किलोमिटर १५ रुपैयाँका दरले भाडा लिनुपर्नेछ।

बैठकमा यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि आकासिँदा पनि राज्यले पुरानै भाडा दर कायम गर्न खोजेको गुनासो गरेका थिए। पर्वतमा यातायात व्यवसायीको समस्या र मागलाई समेत मध्यनजर गरेर भाडा दर कायम गरिएको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापा मगरले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News