रासस
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती थालेकामा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो ।
यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनीमा सयपत्री फूलखेती गरिने गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए । ‘गाउँपालिका आफैँले फूलखेती गरेर उत्पादित फूल बिक्रीबाट मनग्य आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि यसको व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ’, उनले भने ।
गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनीमा व्यावसायिक फूल खेती गर्नका लागि नर्सरी स्थापना गरिएको उनले बताए । गाउँपालिकाले व्यावसायिकरुपमा फूलखेती गर्नका लागि नर्सरी राखेको विर्घा पुछारमा पालिकाका सबै वडाबाट छनौट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिइएको प्रमुख प्रशासकीय अधिकृत टङ्कराज पाण्डेयले बताए ।
‘खनजोतदेखि फूल उत्पादन हुँदासम्म गाउँपालिकाले प्रतिरोपनी नौ हजारका दरले अुनदान उपलब्ध गराउने छ’, उनले भने, ‘उत्पादित फूल तथा माला कृषक समूह वा कृषकले आफैं बिक्री गर्न पनि सक्ने तर बिक्री नभएमा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाउने छ ।’