
रामेछाप जिल्ला सुनापती गाउँपालिकाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस रामेछापको लुभु भीरमा दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको सुनापती गाउँपालिकाका प्रमुख ठुलाकान्छा तामाङले जानकारी दिनुभयो ।
आज बिहान काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाट नजिकै टर्निङमा ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।