पोखरा
पोखरामा राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । असार १५ को अवसरमा पोखरा पर्यटन परिषद्ले पोखरा महानगरपालिका वडा नं. २५ स्थित हेमजामा १७ औ रोपाई महोत्सव–२०७९ आयोजना गरेको थियो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक बर्ष असार १५ मा पर्यटन परिषद पोखराले रोपाई महोत्सव गर्दै आएता पनि कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७ औं संस्करणको महोत्सव यो वर्ष आयोजना गरिएको हो ।
सो अवसरमा पोखरापालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पोखरा विश्वको उत्कृष्ट दस पर्यटकीय गन्तब्यमा पर्ने बताउदै पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग गर्नुभयो । उहाँले अघिल्लो कार्यकालमै राजधानी घोषणाका लागि सिफारिस गरिएको तर घोषणा नभएका कारण अहिले फेरि संघ र प्रदेश सरकारमा सिफारिस गरिएको उल्लेख गर्नुभयो । पोखरा पर्यटन परिषद्ले विगत १६ वर्षदेखि रोपाई महोत्सव गर्दै आएको र यसले पोखराको कृषि र पर्यटन प्रर्बद्वनमा भुमिका खेलेको बताउनुभयो उहाँले बताउनुभयो । खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न महोत्सवबाट टेवा पुग्ने विश्वास उपमेयर गुरुङले लिनुभयो ।
ब्यवसायीहरुले नै विभिन्न इभेण्ट आयोजना गरेर हर मौसम पोखरा घुम्न योग्य बनाउने योजना बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताउनुभयो । ‘रोपाईं महोत्सवको महत्व पोखरामा बढी हुने गर्छ । यहाँ विदेशी पर्यटकहरु नै रोपाईमा सहभागी हुने गर्दछन् । महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।
माछापुच्छ्रे गाउपालिकामा पनि धान दिवश मनाइयो ।
कास्कीको माछापुच्छ्रे गाउपालिकाको वडा न ३ मा एक विशेष कार्यक्रमको आयोजना गरि १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ ।
कृषि ज्ञान केन्द्र कास्की र घाचोकको भुमे सृजनशिल कृषक समुहको आयोजनामा रोपाइ महोत्सबको आयोजना गरि धान दिवस मनाइएको हो ।
कार्यक्रमको जिल्ला समन्बय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । उनले नेपालको कुल ग्राहस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको धान बालीको प्रबर्द्धन गर्न ससक्त कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो ।
कृषकहरूको जिबनस्तर उकास्न विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुबाट हुने कार्यक्रम थप प्रभाबकारी हुनुपर्नेमा जोड दिनुभयो । कृषिमा आयात बढ्नु चिन्ताको बिषय भन्दै कृषीमा यान्त्रिकिकरण र आधुनिकीकरण नभए सम्म व्यावसायिकरण नहुने र सो को लागि सरकारी र गैर सरकारी निकायहरु अब उत्कृष्ट नतिजा आउने गरेर कार्यक्षेत्रमा उत्रनुपर्ने बताउदै कृषकको उत्पादन बिचौलिया मार्फत नभै सिधै कृषकबाट उपभोक्तामा बिक्रि गर्ने प्रबन्ध मिलाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कास्किका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य , कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारी , माछापुच्छ्रे गाउपालिका वडा न ३ का अध्यक्ष हरिश्चन्द्र लम्साल , भुमी ब्यबस्था ,कृषि तथा सहकारी बिकास मन्त्रालय कृषि बिकास महाशाखा गण्डकीका प्रमुख बालकृष्ण अधिकारी , सोही मन्त्रालयका सचिब हरिबहादुर के सि, माछापुच्छ्रे गाउपालिका उपाध्यक्ष सीता अधिकारी लगायतले बोल्नुभएको थियो ।