संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्।
आलेले पार्टी कार्यालयमा अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
आलेले शुक्रबार १० जना असन्तुष्ट समूहमा गरेको हस्ताक्षर फिर्ता लिँदै ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए। पार्टी अध्यक्षलाई राजीनामा बुझाएका आलेले पत्रकार सम्मेलनको तयारी गरेका छन्।
जेठ २२ गते नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। तर संसदमा प्रस्तुत बजेटमाथिको छलफलमा जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोकेका थिए।
शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले अब प्रधानमन्त्री देउवा र प्रचण्डलाई नपर्खिने र ढिलाइ गरे अपमानका रुपमा लिने चेतावनी दिएको थियो।
आजै विहान अखिल नेपाल महिला संघको कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै नयाँ मन्त्रीहरुको आजै सपथ हुने बताएका थिए।