बन्दीपुरको बाघदलेमा चितुवाको आतङ्क रोक्न फलामे खोर

बन्दीपुरको बाघदलेमा चितुवाको आतङ्क रोक्न फलामे खोर

  • Kanchan News

  • बिहिबार, असार २, २०७९

  • 70
    SHARES
बन्दीपुरको बाघदलेमा चितुवाको आतङ्क रोक्न फलामे खोर

तनहुँको बन्दीपुर गाउँपालिका भित्र चितुवाको आतङ्क बढ्न थालेपछि नियन्त्रणका लागि खोर राखिएको छ । गत शनिबार चितुवाको आक्रमणबाट स्थानीय २ जना घाइते भएका थिए ।

बन्दीपुर गाउँपालिका–१ बाघदलेस्थित वनमा चितुवा नियन्त्रणको लागि पासो स्वरूप फलामे खोर र खोरमा बाख्रा समेत राखिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने र नियन्त्रणको लागि सहज हुने विश्वासका साथ पासो थापिएको बन्दीपुर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालयको आग्रहमा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चितुवा नियन्त्रणको प्रयास गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। उक्त क्षेत्रमा चितुवाको आतङ्कले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको उहाँले बताउनुभयो ।

बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर–१ बागदलेमा ३५ वर्षीय भिमलाल गरञ्जा घाइते भएका छन् । दुवै घाइतेको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको थियो ।

चितुवाले दुवै घाइतेलाई घर वरपर नै आक्रमण गरेको थियो ।

तनहुँमा चितुवाको आक्रमणले पछिल्लो ३ वर्षको अवधिमा ११ जना बालबालिकाको मृत्यु भइसकेको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छ भने पछिल्ला दिनहरूमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क बढेको छ ।’

शुक्लागण्डकीको थप्रेकमा राखिएको फलामे खोर आइतबार बाघदलेमा लागेर राखिएको सहायक वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २०७४ देखि हालसम्म १७ वटा चितुवाको जीवित उद्धार गरिएको छ भने २० वटा चितुवा मृत फेला परेको छ ।

डिभिजन वन कार्यालय तनहुँले चितुवाले आक्रमण गरेको ठाउँमा फेरी पनि आक्रमण गर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरेको छ ।  साँझ र रातको समयमा एक्लै नहिँड्न, घर वरपर झाडी क्षेत्र नराख्न समेत डिभिजन वन कार्यालय तनहुँले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News