नेकपा एमालेमा पार्टी अध्यक्ष केपी ओली र नेता भीम रावलबीच जुहारी चलेको छ ।
नेता रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको भन्दै ओलीलाई जवाफ फर्काउनुभएको हो ।
पार्टीले संसद अवरूद्ध गरिरहँदा रावलले एमसीसीबारे छलफलमा भाग लिएकाप्रति मंगलबार ओलीले रावलको कदम पार्टी अनुशासन विपरित भएको टिप्पणी गर्नुभएको थियो ।
सोही विषयलाई लक्षित गर्दै रावलले सामाजिक सञ्जालमा, संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भएको उल्लेख गर्नुभएको हो ।
एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसी सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गरेकोतर्फ पनि उहाँले सम्झाउनुभएको हो ।
ओलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा रावल ‘हिरो’ बन्न खोजेको भन्दै कारबाही हुनसक्ने बताउनुभएको थियो । पार्टीले नारा जुलुस गर्दै वेल घेरिरहँदा रावल भने रोष्टममा गएर बोल्नुभएको थियो ।