काठमाडौं । युक्रेनको राजधानी किभका सडकमा भिडन्त सुरु भएको छ । हमलाको तेस्रो दिन किभमा प्रवेश गरेको रुसी सेनासँग सडकमा भिडन्त सुरु भएको र युक्रेनी सेनाले प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
सडकमै भिडन्त सुरु भएपछि युक्रेनका अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् । रुसको भीषण बम र गोलाबारीबीच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससामु कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन् । यसअघि उनले देश छाड्न अमेरिकाले गरेको आग्रह अस्वीकार गरेका थिए ।
‘हामीले आत्मसमर्पण गर्ने छैनौं, हामीले देशको रक्षा गर्नेछौं’, जेलेन्स्कीलाई उदृत गर्दै अलजजिराले लेखेको छ, ‘हाम्रो हतियार भनेको हाम्रो सत्य हो र सत्य भनेको यो भूमि, यो मुलुक हाम्रो हो र बालबालिका हाम्रा हुन् । र हामीले यी सबैलाई बचाउनेछौं ।‘
रुसी हमलामा परी हालसम्म १९८ जना युक्रेनीको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये ३ जना बालबालिकासमेत छन् । त्यस्तै, एक हजार ११५ जना घाइते भएको युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियास्कोले जानकारी गराएका छन् ।
रुसी सेनातर्फ समेत ठूलो हताहती भएको युक्रेनले बताएको छ । त्यहाँका अधिकारीहरूले ३५ सय रुसी सैनिक मारिएको दाबी गरेका छन् । युक्रेनको जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै रुसका १४ वटा विमान, ८ हेलिकप्टर, १०२ वटा ट्याङ्क, ५३६ सशस्त्र बहान र १५ वटा तोप ध्वस्त पारेको जनाएको छ ।