स्याङ्जामा कोदो उत्पादनमा वृद्धि भएको छ ।
यस वर्ष १६ हजार ४ सय ७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा १८ हजार ४७.७ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रकी बागवानी कृषि अधिकृत सोनी रानाका अनुसार गत वर्षभन्दा यस वर्ष १.७ मेट्रिक टन कोदो उत्पादनमा वृद्धि भएको हो ।
गत वर्ष १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा १८ हजार ४६ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।
गत वर्षभन्दा यस वर्ष उत्पादन हुने क्षेत्रफल समेत केही बढेको देखिन्छ । जिल्लामा प्राय स्थानहरूमा लगाइने कोदो खेती प्रवर्द्धनका लागी ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको दाबी गरेको छ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाका धेरै कोदो हुने स्थानहरूमा यस्ता खालका कार्यक्रम हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।
साना तथा मझौला बजेटबाट जिल्लामा रैथाने बाली प्रवर्द्धन कार्यक्रम हुने गरेको केन्द्रको भनाई छ । धान, फलफूल तथा तरकारी जस्तो कोदो खेतीको पकेट क्षेत्र नतोकिए पनि जिल्लाभरि नै धेरै थोरै मात्रामा कोदो खेती गरिन्छ । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रुपमा लिइन्छ ।
यस वर्ष सामान्य रुपमा कोदो उत्पादनमा वृद्धि भए पनि व्यावसायिक रुपमा भने कोदो खेती गरिएको पाइँदैन । कोदोका लागी निकै धेरै मेहेनत र परिश्रम चाहिने भएपछि पछिल्लो समय कृषकहरू नगदे बालीमा आकर्षित भएका छन् । कोदोको राम्रो बजार नपाउँदा पनि कृषकको यसप्रति आकर्षण नदेखिएको हो ।
कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो । भाते बानीको संस्कृतिमा हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीको भान्छामा पनि कम महत्त्व दिने गरेको पाइन्छ तर पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । यो मधुमेहका बिरामीका लागि उपयुक्त अन्नबाली हो ।
पोषण तत्त्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ ।