काठमाडौं । नेपाली फिल्म क्षेत्रमा उपाधिलाई लिएर विवाद हुनु नयाँ होइन । प्रत्येक व्यक्ति र संस्थाले निजी तवरबाटै उपाधि वितरण गरिरहेका हुन्छन् । यसलाई लिएर एकरुपता पनि पाइँदैन । केही वर्षपहिले एक टेलिभिजन कार्यक्रम संचालकले राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिका भएको बताए । उनले टिभी कार्यक्रमबाटै राजेश र करिश्मालाई यस्तो उपाधि दिएपछि दर्शकले पनि हमाललाई महानायक र करिश्मालाई महानायिका भन्न थाले । यसबीचमा धेरैपटक यो उपाधिलाई लिएर पटक–पटक विवाद समेत हुने गरेको छ । यसैसाता काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अभिनेताद्धय भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई महानायिकाको उपाधि दिए ।
शोभित बस्नेतले निर्देशन गरेको फिल्म डाँडाको बरपीपलमा भुवन र शिवले गौरीजस्तो अभिनेत्री अझै केही पुस्तामा नआउने दावी गर्दै गौरीलाई अभिनयकी वास्तविक महारानी र महानायिका भएको बताए । भुवनले त अझै शिवलाई महानायक भन्न समेत भ्याए ।जवाफमा अभिनेत्री मल्लले आफूलाई पद र सम्मानभन्दा दर्शकको माया ठूलो हुने बताइन् । ‘काम सुरु गर्दा महानायिका हुन्छु र पद पाउँछु भनेर गरेको होइन । यो देशमा उपधिको कुनै औचित्य छैन’ गौरीले भनिन्, ‘विभिन किमिसको उपाधिले मान्छेहरुलाई सिंगारेको देख्छु । मलाई उपाधि चाहिँदैन । हामीलाई श्रम गर्र्ने मौका दिनूस । पदभन्दा दर्शकको माया र स्नेह नै माथि छ ।’ त्यहीबेला देखि नै, भुवन र राजेशबीच पहिलेदेखि नै महानायक इस्युमा मतभिन्नता छ । त्यसो त उक्त कार्यक्रममा महानायक र महानायिका बारे प्रष्ट पारेका छन् “कसैलाई कोही महानायक र महानायिका लाग्दा तर मलाई चाहिँ शिव श्रेष्ठ र गौरी मल्ल लाग्छ”। बस्नेत निर्देशित फिल्म डाँडाको बरपीपलमा भुवन र शिवले दशकपछि सहकार्य गरेका छन् । उक्त फिल्मको एउटा गीत लन्च कार्यक्रममा गरिएको थियो ।