युवा पुस्तालाई अवसर दिन सक्रिय राजनीतिबाट बिदा लिएँ : अष्टलक्ष्मी शाक्य

युवा पुस्तालाई अवसर दिन सक्रिय राजनीतिबाट बिदा लिएँ : अष्टलक्ष्मी शाक्य

  • Kanchan News

  • सोमवार, मंसिर ३०, २०८२

  • 33
    SHARES
युवा पुस्तालाई अवसर दिन सक्रिय राजनीतिबाट बिदा लिएँ : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ११औं महाधिवेशनसँगै सक्रिय राजनीतिबाट बिदा लिएकी छन् ।

दोस्रो र तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण र हौसला दिन आफूले नेतृत्व तहबाट बिदा लिने निर्णय गरेको उनको भनाइ छ । उनले यस्तो निर्णय लिए पनि ७० वर्ष नाघिसकेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन् । पार्टीमा नेतृत्व हस्तान्तरणलगायत विषयमा शाक्यसँग कान्तिपुरका गंगा बीसीले गरेको कुराकानी

एमालेको ११औं महाधिवेशनमा सक्रिय राजनीतिमा बिदा लिने निर्णय गर्नु भयो । किन ?

दुई वर्षअघि नै ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिने भनेको थिएँ । किनकि नयाँ पुस्ता र युवा पुस्ता धेरै आएका छन्। दोस्रो र तेस्रो पुस्ताका साथीहरू पार्टीमा ठूलो पंक्तिमा निरन्तर लागिरहनुभएको छ । त्यसैले उहाँहरूलाई अवसर र जिम्मेवारी बाँड्न सक्नुपर्छ । त्यसो गरेपछि मात्र पार्टी अझ बलियो, सुधारिएको र एकताबद्ध भएर अगाडि बढ्न सक्छ । नयाँ विचारबाट नयाँ ढंगले नेतृत्व गर्दै व्यवस्थित बनाएर लक्ष्यमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ।एउटै व्यक्ति पटक–पटक नेतृत्वमा बसिरहँदा नयाँले अवसर पाउँदैनन्, पार्टी यथास्थितिमा फस्दै जान्छ । त्यसैले अघिल्लो महाधिवेशनहरूमा पनि यो कुरा उठाएका थियौं । हिजो पनि युवराज ज्ञवाली, केशव बरालसहित हामीले दोस्रो पुस्तालाई अवसर दिनुपर्छ, हामीले छोडेपछि पुस्तान्तरण हुनुपर्छ भनेर बैठकमा बोलेका थियौं ।

म २०२७ सालदेखि राजनीतिमा लागेको हुँ । २०३६ सालपछि ११ वर्ष भूमिगत जीवन बिताएँ । पाचौँ महाधिवेशनदेखि केन्द्रीय कमिटीमा छु । पार्टीका सबैखाले जिम्मेवारी लिएँ । भूगोलको जिम्मेवारी सम्हालेँ, अनेक ढङ्गले नेतृत्व गरेँ ।

वरिष्ठ नेताहरुले सक्रिय राजनीति छाड्दा पार्टी कमजोर हुन्छ भन्ने तर्क छ नि ?

आज पार्टी हिजोको जस्तो साँघुरो र सीमित छैन, धेरै फराकिलो र विशाल भएको छ । व्यवस्था परिवर्तनसँगै नया सोच र ढंगले नेतृत्व गर्नुपर्छ । हिजोको जस्तो काम गर्दा हुँदैन। अहिले हामीले राम्रो संविधान बनाएका छौं, समाजवादको लक्ष्य लिएका छौं । नयाँ नेपाल, सुन्दर नेपाल, भ्रष्टाचारमुक्त, सुशासनयुक्त, सामाजिक न्याय स्थापित भएको नेपाल बनाउनुपर्छ । विश्वमा नेपाललाई समृद्ध देश भनेर चिनाउनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा हाम्रा दायित्वहरू धेरै फराकिला भएका छन्।

अब परम्परागत सोचबाट मात्र चल्दैन । क्रिएटिभ हुनुपर्छ, नयाँनयाँ भिजन आउनुपर्छ। लोकतन्त्रलाई बलियो बनाउँदा लोकतान्त्रिक सोच, शैली, चरित्र र संस्कार पनि विकास गर्नुपर्छ। सुसंस्कृत समाज निर्माण गर्ने, सामाजिक न्याय स्थापित गर्ने र समृद्धिका नयाँ खाका बनाउने काम नयाँ पुस्ताले राम्रोसँग गर्न सक्छन् । नयाँ पुस्तासँग शिक्षा छ, भिजन छ, नयाँ प्रविधि छ, उत्साह छ। उहाँहरूले पनि पार्टी बनाउन दुःख गरेका छन्, उत्साहित भएर राजनीतिमा आएका छन्। त्यसैले उहाँहरूलाई कदर गरेर जिम्मेवारी दिनुपर्छ र ७० वर्ष पुगेका हामी सबैले छोड्नुपर्छ । उनीहरुलाई सुझाव-सल्लाह दिँदै अभिभावकत्व लिऔं । संरक्षक बनौं र नया पुस्तालाई अगाडि बढाऔं।

केपी ओली र ईश्वर पोखरेल ७० वर्षे उमेर हद हटाएर पुनः नेतृत्वमा आउन प्रतिस्पर्धााम हुनुहुन्छ नि ?

उहाँहरु अध्यक्षका लागि उम्मेदवार हुनुहुन्छ। ओलीले आफ्नो अनुकूल बनाउन विधान संशोधन गर्नुभयो । यस्तो प्रवृत्ति पार्टीमा छ । यो नै समस्या हो। हाम्रो पार्टी जनताको बहुदलीय जनवाद मान्ने, लोकतान्त्रिक संस्कार बोकेर यो विचारलाई मान्यता दिएको पार्टी हो । यसको गौरवपूर्ण इतिहास छ । एमालेका पूर्वमहासचिव मदन भण्डारीलगायत धेरैले त्याग र योगदान गर्नुभयो । हामी मात्र होइन, अगाडिका पुस्ताले पनि धेरै त्याग गरेका छन्। तर यसपालिको महाधिवेशनमा पदाधिकारी १५ जनाबाट बढाएर १९ बनाउने प्रस्ताव आयो । पहिला बहुपदमा जानुअघि हामी एक अध्यक्ष र महासचिवबाटै चल्थ्यौं । नयाँ परिवेशमा सबैलाई व्यवस्थापन गर्न पद थप्यौं । विधान महाधिवेशनबाट पदाधिकारी १५ जना हुने विधान पास भएको थियो। त्यो पास भइसकेपछि विधान मिच्नु हुँदैनथ्यो । व्यापक छलफल गरेर सबैको भावना बुझेर पास गरेको विधान तलमाथि गर्नु हुँदैनथ्यो ।

अध्यक्ष केपी ओलीले सचिवालय बैठकमा यो छलफलको विषय नै बन्दैन भन्नुभएको थियो, तर पछि दबाब परेर निर्णय फेरियो । यो दबाबकै कारण दोस्रो–तेस्रो पुस्तामा हस्तान्तरण नहुने जोखिम देखियो । विधान महाधिवेशनको पालना नगर्नु राजनीतिक नैतिकतासँग मेल खाँदैन । कम्युनिस्ट आन्दोलनमा निर्णय गरेको कुरा दबाबमा पटकपटक फेर्नु हुँदैन । ‘म नभएपछि पार्टी चल्दैन’ भन्ने सोच गलत हो। एउटै व्यक्तिले सबै सम्हाल्न खोज्ने, आकाश धर्ती नै सम्हाल्न खोज्ने कुरा हुँदैन । अब दोस्रो, तेस्रो, युवा र नवयुवा पुस्तालाई विश्वास गर्नुपर्छ, हौसला दिनुपर्छ । यो देश र पार्टी उहाँहरूले सम्हाल्ने हो । लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने उहाँहरूकै जिम्मेवारी हो । अभिभावकत्व दिने कुरामा किन कन्जुस्याइँ गर्ने ? तर ओलीले यो कुरा मान्नुभएन । त्यसपछि ओलीजी ईश्वर पोखरेलजीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ ।

महाधिवेशनमा नेतृत्व हस्तान्तरण र महिलालाई सशक्त बनाउन महाधिवेशन प्रतिनिधिहरूको भूमिका के हुन्छ ? उहाँहरूलाई तपाईंको के आग्रह छ ?

अहिलेका महाधिवेशन प्रतिनिधि मालेदेखि नै पार्टी निर्माणमा योगदान दिने, दुःख गरेर पार्टीमा निरन्तर लागेर यहाँसम्म आउनुभएको हो । उहाँहरूले कुनै बहकाउ वा दबाबमा नपरी ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्नुपर्छ । कम्तीमा देश र जनतालाई शिरमा राखेर, लोकतान्त्रिक पार्टीलाई काँधमा बोकेर ठिक निर्णय दिनुपर्छ । आफनो अमूल्य मत सही ठाउँमा हाल्न सक्नुपर्छ । त्यसो गरे नेकपा एमाले अझ सुदृढ, एकताबद्ध र विचार तथा विधिबाट चल्ने पार्टी बन्छ । पार्टीमा न्यायोचित मूल्यांकन हुन्छ ।

अहिले पार्टीमा नैतिकता कमजोर भएको छ । अराजकता बढेको छ । विधि मिच्ने काम भएको छ र संस्कार हराउँदै गएको छ । यी सबै सम्हाल्ने नेतृत्व छान्न प्रतिनिधिहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News