नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको छैठौँ पूर्ण बैठक पोखरामा आज सम्पन्न भएको छ। प्रदेश कमिटी पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको बैठकमा पार्टीको हालको राजनीतिक परिस्थितिबारे विस्तृत समीक्षा गरिनुका साथै आगामी योजनामाथि गहन छलफल गरिएको पार्टीले जानकारी दिएको छ।
प्रमुख अतिथि तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैठकलाई सम्बोधन गर्दै एमालेलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास केही प्रतिगामी तथा प्रतिक्रियावादी शक्तिहरूबाट भइरहेको उल्लेख गरे। मुलुकको राजनीतिक स्थिरता, विकासको निरन्तरता र जनतामुखी शासन व्यवस्थामा एमालेले निर्वाह गरेको अग्रणी भूमिकालाई विफल पार्नका लागि विभिन्न शक्तिहरू सक्रिय भएको उनको भनाइ थियो । पोखरेलले भने, “एमाले मुलुक निर्माण र परिवर्तनको मूलधारमा उभिएको पार्टी हो । यही कारणवश केही प्रतिगामी, प्रतिक्रिवादी र अवसरवादी समूहहरूले पार्टीलाई विचलित बनाउने, संगठनभित्र अविश्वास र भ्रम सिर्जना गर्ने तथा जनतामाझ गलत प्रचार प्रसार फैलाउने खेल चलाइरहेका छन्। तर यी सबै प्रयास विफल हुनेछन्, किनकि एमालेसँग जनताको विश्वास, राजनीतिक प्रतिबद्धता र दृढ संगठनात्मक क्षमता छ।” उनले पार्टी नेतृत्व र कार्यकर्तालाई एउटै उद्देश्य—संगठित, सक्षम र जनमुखी आन्दोलनलाई अझ सबल बनाउनेमा केन्द्रित हुन आह्वान गरे।
पोखरेलले संगठन विस्तार, आन्तरिक व्यवस्थापन र जनस्तरमा पार्टीको प्रभावकारिताबारे केन्द्रित भएर मार्गनिर्देश गरे। महासचिव पोखरेलले गण्डकी प्रदेश संगठनले पछिल्ला राजनीतिक गतिविधिमा देखाएको सक्रियतालाई सकारात्मक भन्दै अझ प्रभावकारी रूपमा जनतासंग जोडिनुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले देशभर एमालेप्रति जनताको भरोसा बढिरहेको उल्लेख गर्दै, पार्टीप्रति बाहिरबाट गरिने हरेक दुष्प्रचारलाई तथ्य, व्यवहार र जनतासँगको प्रत्यक्ष सम्वादमार्फत प्रत्युत्तर दिनुपर्नेमा जोड दिए । उनले पार्टी प्रणाली बलियो र संस्थागत रूपमा सक्षम भए मात्र राष्ट्रले स्थिरता, आर्थिक वृद्धि र सामाजिक विकास सुनिश्चित गर्न सक्ने बताए । चीन र बेलायत जस्ता देशको अनुभवले स्पष्ट देखाउँछ कि पार्टी प्रणाली बलियो र संस्थागत भए मात्र राष्ट्रले स्थिरता र विकास सुनिश्चित गर्ने बताउदै गुरुङले चीनको एकदलीय प्रणालीमा नीति निरन्तरता र कार्यान्वयन क्षमता उच्च रहेको छ भने बेलायतको बहुदलीय संसदीय प्रणालीमा संस्थागत स्थिरता र कानुनी शासन बलियो छ। नेपालले यी दुवै दृष्टान्तबाट सिकेर आफ्नो पार्टी प्रणाली सुधार गर्नुपर्छ। नेपालमा पार्टी प्रणालीको मजबुती राष्ट्रिय विकासको आधार भएकाले पार्टी प्रणाली कमजोर रह्यो भने विकास ढिलो हुने, स्थिरता टिक्न नसक्ने र लोकतन्त्रमा जनविश्वास कमजोर हुदै जाने बताए ।
बैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् गण्डकी प्रदेश इञ्चार्ज किरण गुरुङ स्थायी कमिटि सदस्य खगराज अधिकारी लगायतले बोल्नु भएको थियो । नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको बैठकको सञ्चालन सचिव धञ्नजय दवाडी र स्वागत मन्तव्य उपसचिव मञ्जु अधिकारीले गर्नुभएको थियो ।
बैठकमा आगामी महाधिवेशनको तयारी, कार्यकर्ता परिचालन अभियान र प्रदेशस्तरीय योजनाहरूलाई कार्यान्वयनमा लैजाने रणनीतिबारे विस्तृत रूपमा छलफल भएको बताइएको छ। साथै, पार्टीभित्र देखिएका समसामयिक चुनौती, वर्तमान उत्पन्न समस्या र विभिन्न जिल्लाका संगठनात्मक अवस्थाको समीक्षा गर्दै आवश्यक निर्णयहरू पनि बैठकले गरेको छ।