नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको छ ।
आज बसेको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । भने उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने सहमति भएको थियो ।
तर, धामी र शिवाकोटीबीच पनि नेतृत्व भागबन्डा गर्ने सहमति भएको छ । धामीले ०८३ जेठ ३ गते शिवाकोटीलाई अध्यक्ष हस्तान्तरण गर्ने सहमति बनेको स्रोतले बतायो । एक पदाधिकारीअनुसार धामी जेठमा ३२ वर्षे उमेर हद नाघ्ने भएकाले शिवाकोटीलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति बनेको हो । नेतृत्व हस्तान्तरण जेठमा राष्ट्रिय भेला वा महाधिवेशनमै गएर गरिने समझदारी बनेको छ । यसले संगठनभित्र पनि विवाद नहुने र पार्टीको निर्देशन कार्यान्वयन पनि हुने ती पदाधिकारीले बताए । निवर्तमान अध्यक्ष कडरियालाई भने माउ पार्टी एमालेको आसन्न ११औं महाधिवेशनमा प्रतिनिधि सुनिश्चित गर्ने पनि सहमति भएको छ।