बागलुङ । धानबाली भित्राउने मुख्य समयमा पानी परेपछि बागलुङका किसान चिन्तित भएका छन् । तिहार सकिए लगत्तै धान भित्राउने योजना बनाएका किसानलाई समस्या भएको हो ।
मङ्गलबार परेको वर्षाले धान बालीमा क्षति पु¥याएको छ । वर्षाले काटेर खेतमै सुकाएको धानको पाँजा रुझाएको र काट्न ठिक्क परेको धान समेत खेतमा नै झारी दिएको छ ।
धान काट्ने बेलामा पानी पर्ने सङ्केत नदेखिए पनि धान काटेर सुकाउने बित्तिकै पानी परेपछि नोक्सानी भएको काठेखोला गाउँपालिका–२ भीमापोखराका किसान सूर्यबहादुर थापाले बताउनुभयो ।
काठेखोला गाउँपालिका–२ का अर्का किसान सुनिल पौडेलले भित्र्याउने बेलाको धान पानीले भिजाउँदा उत्पादन घट्नेमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले वर्षाले खेतमा पाकिसकेको धान खेतमा ढलेको बताउनुभयो । वर्षाले जिल्लाका धेरै ठाउँमा धान भित्र्याउने काम प्रभावित भएको छ ।
राम्रो मौसम रहँदा उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको भएपनि वर्षाले यस वर्षको उत्पादनमा असर पार्ने देखिएको बताइएको छ । यस वर्ष बागलुङमा करिब पाँच हजार चार सय ७९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।